कांग्रेसले नचिनेका वीपीका एक अनुयायीको ‘यात्रा निरन्तर’ – Dcnepal

कांग्रेसले नचिनेका वीपीका एक अनुयायीको ‘यात्रा निरन्तर’

भनिन्छ– कहिलेकाहीँ आफ्नैलाई चिन्न पनि अरुको आँखा चाहिन्छ। सपना रोका मगर र मुस्कान खातुन यसका पछिल्ला उदाहरण हुन्। बीबीसी, सिएनएनले दिएपछि बल्ल हामीले उनीहरुका योगदानबारे थाहा पायौँ। हाम्रै छोरी चेलीले गरेका यी अन्तर्राष्ट्रियस्तरका काम पनि हामीले उनीहरुका आँखाबाट मात्र चिन्न सक्यौँ। यसको अर्थ हो– हामीले आफ्नै मान्छे चिन्दैनौँ या चिनेर पनि चिन्न खोज्दैनौँ।

गएको २८ चैतमा गैंडाकोटमा नेपाली काँग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको पुस्तक ‘यात्रा निरन्तर’ विमोचन समारोहमा सबैको अभिव्यक्ति सुन्दा पनि लाग्थ्यो वीपी कोइरालाका एक सच्चा अनुयायी सापकोटालाई काँग्रेसले चिन्न सकेको रहेनछ।

पूर्व राष्ट्रपति डा.रामवरण यादवले पुस्तक विमोचन गरेपछि सापकोटा र उहाँको पुस्तकबारे बोल्ने डा.शशांक कोइरालादेखि गगन थापा हुँदै विश्लेषक हरि शर्मासम्मको विचारको निचोड यही थियो।

त्यसो त पुस्तकको अन्तिम पातोमा काँग्रेस सभापति शेरबहादुर देउवाले विसं २०२८ मा गैंडाकोटमा नेवि संघको महाधिवेशन हुँदादेखि जनमत संग्रहका लागि भारतबाट फर्केर नेपाल आएका वीपीसँगै तिलकलाई चितवनमा भेटेको प्रसंग मात्र उल्लेख गर्नुभएको छैन सापकोटालाई ‘जहिल्यै पनि आफ्नोभन्दा पार्टीको चिन्ता गर्ने कार्यकर्ता र काँग्रेसमा पूर्णतया समर्पित मिलनसार साथी’ को रुपमा चित्रण गर्नुभएको छ।

भैरहवा जेलमा बस्दा आफूले पाएको तिलक सापकोटाका बारेमा त्यस समयका चर्चित बामपन्थी नेता आरके मैनालीले गरेको टिप्पणीको झन् कुरै भएन । त्यसो भए तिलकलाई गैंडाकोटको परिधिबाहिर राष्ट्रिय रुपमा सुनिन र चिनिन सक्ने वातावरण काँग्रेसले किन बनाउन सकेन? यो पुस्तकका हरेक पाना यही अहम प्रश्नकै वपिरि घुम्छन्।

विसं २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई बालुवाटारमै बोलाएर भनेका रहेछन्— अब राजनीतिमा शशांकलाई इस्टाब्लिस गर्नुपर्यो। तिम्रोे क्षेत्र सुरक्षित देखेर मैले शशांकलाई तिमीकहाँ पठाएको छु। सकेको सहयोग गरिदेऊ, म तिमीलाई हेर्छु ।’ त्यसो त पहिला पनि उनलाई पार्टीले के हेरेको थियो र? अब त झन् हेर्ने कुरै केही रहेन। तिलकले जीवनभर दिलोज्यान लगाएर निर्माण गरेको क्षेत्र काँग्रेसका लागि सुरिक्षत त बनाउनुभयो तर त्यहाँबाट आफै जनप्रतिनिधि भएर आफैले संगठन गरेको क्षेत्रका नागरिकको अझै बढी सेवा गर्ने अवसर भने प्राप्त गर्नुभएको छैन।

विसं २०१५ मा बागलुङ पुगेका वीपी कोइरालालाई भेट्न १४ वर्षे किशोर सापकोटा जिल्लाको दक्षिणी विकट स्थान दमेकबाट घन्टौँसम्म हिँडेर बागलुङ बजारसम्म पुग्नुहुन्छ। त्यस बेलाको त्यो बिकट ठाउँका तिलकलाई वीपी कोइरालालाई भेट्न जाने साहस कसरी आयो? वीपी जिल्लामा आउने खबर नै तिलकलाई त्यो विकट स्थानमा कसरी प्राप्त भयो?

उहाँ किन विपी भेट्न चाहनुहुन्थ्यो र काँग्रेस पार्टीमा लागेर एक १४ वर्षे किशोरले आफ्नो गाउँठाउँ र देशमा के गर्न चाहनुभएको थियो? अहिले आफैप्रति अनुत्तरित छन् यी प्रश्न। वीपीसँगको पहिलो भेट्मै उहाँ प्रभावित हुनुभयो। भित्रैदेखि आयो कि देशमा सामन्ती प्रथाको अन्त्य गरी प्रजातन्त्र र समाजवादमार्फत् देशको विकास वीपीजस्ता व्यक्तिबाट मात्र सम्भव उहांले देख्नुभयो र अब काँग्रेस भएरै देशको विकास गर्ने सपना पनि देख्नुभयो।

त्यसो त उहाँको गाउँमा देश, राजनीति, शिक्षाप्रतिको चेतनाको विजारोपण उतिबेलै भइसकेको थियो। उहाँका पिता भूमिश्वर सापकोटाले विसं २०१३ मा दमेकको आफ्नै गोठलाई बारेर विद्यालयल शुरु गरी आफ्नै छोरा तिलकका साथै अरु पनि गाउँका केटा उठाएर जीवनमा आँखा देख्न पढ्नुपर्छ, नत्र यसैगरी खेती किसानीमै जीवन सकिन्छ भन्ने चेतना दिनुभएको थियो।

पछि केही गाउँका केटाहरु आए र वर्षेनी थपिँदै गएपछि सो विद्यालय सञ्चालन हुदै गयो। दमेकको रितिपमा स्थापित त्यही विद्यालय आजसम्म सञ्चालनमै छ, जिल्लाको एक उत्कृष्ट माध्यमिक विद्यालयका रुपमा ।

पछि २०१७ सालको राजा महेन्द्रको पञ्चायती कू पछि वीपी जेल परे र उनका समर्थकहरुलाई खोज्ने क्रममा भूमिश्वर र तिलकलाई पनि जेल हालियो । वीपीलाई फासिदिनुपर्छ भन्ने कागजमा सही गरे छोडिदिने त्यस बेलाको प्रशासनले बाचा गरेपनि उहाँहरुले त्यसो भन्न नमानेपछि महिनौँसम्म राखेर उहाँहरुलाई कुट्दा प्रहरीले कैयौँ लौरा भाँचेका प्रसंग त्यस समयका शासकहरुले पछिसम्म पनि सुनाउने गरेका थिए ।

आफ्नो गाउँठाउँका जनताको केन्द्रमै रहेपनि काठमाडौंको राजनीतिको केन्द्रमा नपुगेकोमा भने उहाँलाई उति पछुतो छैन। भन्नुहुन्छ– म पनि अरु नेताहरु सरह नै केन्द्रको छत्रछायाँमा पुगेको भए अहिले उनीहरु सरह नै शक्ति र सम्पत्तिको मातमा गन्हाउने पनि थिएँ होला। मेरो नाम लिँदा अहिलेसम्म कसैले नाक खुम्च्याउनु परेको छैन, मेरा लागि यो नै ठूलो कुरा हो।

‘यात्रा निरन्तर’ तिलकको राजनीतिक र जीवनको यात्राको डायरी हो । पहिलेका प्रसंगहरु ठाउँठाउँमा आए पनि यो उहाँले आफू भैरहवा कारागारमा रहँदा विसं २०४१ वैशाख ६ गतेदेखि २०७७ माघ ६ गतेसम्मको दैनिक डायरी ५०६ पेजमा उतार्नुभएको छ ।

पुस्तकको भूमिकामा विश्लेषक हरि शर्माले कसैको घटना र त्यससँग जोडिएका प्रसंग या सिद्धान्तहरुलाई व्याख्या गर्न र जीवनमा लागू गर्न त सजिलो हुन्छ तर डायरीलाई बुझेर मनन् गर्ने काम भने त्यति सजिलो छैन भन्नुभएको छ । उहाँको भनाइ छ कि आफूलाई लागेको कुरा सरसरती लेख्नु नै भावना व्यक्त गर्नु हो, जसमा तथ्य र विचार दुवै लुकेका पनि हुनसक्छन् ।

तर डायरी लेखनको काम आफैमा जटिल कर्म र विधा पनि हो । डायरी लेखन यस्तो विधा हो जसमा इमान्दारिता र अनुसन्धानको खाँचो पर्दछ। यस डायरी सार्वजनिक गरेर सापकोटाले नेपाली राजनीतिक इतिहासमा स्थानीय र क्षेत्रीय स्तरमा रहेका हजारौँ सामाजिक, राजनीतिकर्मीहरुको अनुभव र भावनालाई बाहिर ल्याइदिएको शर्माको अनुभव छ।

हुन पनि हो, उहाँले बागलुङमा पुल पुलेसा र सडकदेखि बाँझो गैंडाकोटलाई कुलोले हराभरा बनाउने र सामाजिक विकासमा जोड्दै संस्कृत विद्यापीठ निर्माणसम्मका दर्जनौँ सामाजिक र विकास निर्माणका कामहरुको फेहरिस्त यो डायरीमा भेटिन्छ ।

जुन कुरा आफैले लेखेको पुस्तकमा आफूले गरेका कामको सबै बयान गर्न मिल्दैनथ्यो होला, डायरीमा वस्तुपरक रुपले जस्ताको त्यस्तै राख्दा झन् गहन हुन पुगेको छ । यसले कुनै एकजना राजनीतिक कार्यकर्ताले आफ्नो जीवनमा समाजसेवाका कति काम गर्न सक्छ भन्ने पनि सफल उदाहरण प्रस्तुत गर्दछ ।

अहिले केही मिटर बाटो या विद्यालयकाले एउटा कक्षा कोठा थप्दा पनि मिडिया बोलाएर प्रचार गर्ने शैलीका राजनीतिकर्मीहरुलाई यो डायरीले आफ्ना कामको प्रचार नगर्ने राम्रो नैतिक शिक्षा प्रदान गर्न सक्नेछ ।

तिलक सापकोटको एउटा विशिष्ट परिचय कुशल संगठक हो । उहाँले दर्जनौँ सामाजिक र शैक्षिक संघसंस्था खोल्नुभएको छ । यस्तो प्रेरणा कसरी प्राप्त भयो ? उहाँको अनुभव छ– ‘२०३५ सालमा बीपी कोइराला काठमाडौंबाट विराटनगर हुँदै बनारस गएका थिए । विराटनगरमा रहेको एलिट क्लबमा गएर उनले मन्तव्य राखेका थिए।

अनि मलाई लाग्यो— यस्तो क्लब भएमा पञ्चायतकै शासन भए पनि बोल्न त सकिने रहेछ, यही प्रेरणाबाट २०३६ सालमा गैंडाकोटमा विजय युवा क्लब खोल्ने काम भयो । आज यही क्लब हुर्केर–बढेर गैंडाकोटको आर्थिक–सामाजिक परिवर्तनमा विजय विकास स्रोत केन्द्र (भीडीआरसी) नामबाट परिचित छ ।

यही क्लबको रूपान्तरण भएजस्तै आज गैंडाकोट क्षेत्रमा विजय सामुदायिक शिक्षा सदन (२०५८), विजय एफएम (२०६४), कालिका संस्कृत विद्यापीठ (२०५९), बिकु बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् ।

विसं २०४८ तिर सुरुवातमा २६ जना सदस्यले दिनको १ मोहोर पैसा संकलन गर्नेगरी शुरु भएको यो विजय बचत योजना (बिकु) अभियानले आज यो भेगकै नमुना बैंकिङको स्थान बनाएको छ । आज बिकुमा ८ अर्ब रुपैयाँको पुँजी सञ्चालन अवस्थामा छ ।

त्यो बेला १ सय रुपैयाँमा ५ रुपैयाँ मासिक ब्याज लिने चलन रहेकाले गाउँका सर्वसाधारण नागरिकलाई त्यो ब्याजबाट मुक्ति दिलाउने उद्देश्यले नै यो अभियान शुरु भएको हो र यसैबाट केटाकेटीको खुत्रुके बचत पनि सुरु भएको थियो । एक थुकी सुकी सय थुकी नदी भन्ने उखानलाई उहाँले यहाँनेर सावित गरिदिनुभएको छ ।

देशमा समाजवादको स्थापना पनि यसैगरी हुने ठान्नुहुन्छ सापकोटा र भन्नुहुन्छ– यो पनि समाजवादी कार्यक्रम हो भन्ने लाग्छ, नागरिकस्तरका यस्तै सानातिना अभियानहरुले नै राष्ट्रिय स्वरुप ग्रहण गर्नेहुन् । कुनै पनि क्षेत्र या वियषको क्रान्ति एकैपटक राजधानीबाट जन्मिँदैन ।

वीपीलाई भेट्न भारत गएका तिलकलाई एकपटक वीपीले भनेका थिए– राजनीति गर्न सबै पार्टीमै लाग्नुपर्ने, राजनीतिक सभा सम्मेलन नै गर्नुपर्दैन । आफू रहेका स्थानमा समाजको सेवा गरे पुग्छ ।

पछि २०१७ सालको राजा महेन्द्रको पञ्चायती कू पछि वीपी जेल परे र उनका समर्थकहरुलाई खोज्ने क्रममा भूमिश्वर र तिलकलाई पनि जेल हालियो। वीपीलाई फासिदिनुपर्छ भन्ने कागजमा सही गरे छोडिदिने त्यस बेलाको प्रशासनले बाचा गरेपनि उहाँहरुले त्यसो भन्न नमानेपछि महिनौँसम्म राखेर उहाँहरुलाई कुट्दा प्रहरीले कैयौँ लौरा भाँचेका प्रसंग त्यस समयका शासकहरुले पछिसम्म पनि सुनाउने गरेका थिए।

आफ्नो गाउँ ठाउँका नागरिकका समस्या र आवश्यकताको सम्बोधन गरेर समाज सेवा गरे पुग्छ भनेका थिए । यसले पनि सापकोटालाई सामाजिक संघसंस्थाहरु स्थापना गरी यसैबाट नागरिक एकतामार्फत् जनबल सिर्जना गर्ने र नागरिकमा जागरुकता ल्याउने काममा प्रेरणा मिलेको थियो ।

गैंडाकोटमै २०३३ सालमा स्याउलाले छाएर सुरु भएको कालिका संस्कृत विद्यापीठमा आज आयुर्वेद र संस्कृत पढाइ हुन्छ । अहिले भने नेपाल संस्कृतअन्तर्गत आंगिक बनाएर थालिएको छ, जुन उनको एक सपना थियो । नेपालबाट गुन्द्रुकको भाउमा जडीबुटी विदेशिने र यता बन्द शिशीमा औषधि बनेर सुनको मूल्यमा भित्रिने गरेको देख्दा उहाँको मुटु पोल्छ ।

देशमा बढीभन्दा बढी मात्रामा आयुर्वेदको पठन पाठन गर्ने र यहाँका अलौकिक औषधीय मूल्य बोकेका जडिबुटीबाटै हामीलाई चाहिने औषधि बनाउन सके मात्र हामी माथि लाग्नेछौँ, उहाँको भनाइ छ । सायद यो विद्यापीठमा शुरु गर्न खोजेको पनि यस्तै शिक्षा नै हो र त्यसका लागि उहाँ वर्षाैँदेखि लाग्नुभएको थियो ।

काँग्रेसको संगठन निर्माणकै कारण सापकोट पञ्चायती नजरमा ‘राज्यद्रोही’ बनेर २०४१ जेठ महिनादेखि केही वर्ष भैरवहा, परासी र पाल्पा जेलमा थुनामा पर्नुभयो । उहाँले पञ्चायती शासकबाट पटक पटक जेल सजायँ पाउनुभएको छ । विसं २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई बालुवाटारमै बोलाएर भनेका रहेछन्— अब राजनीतिमा शशांकलाई इस्टाब्लिस गर्नुप-यो ।

तिम्रोे क्षेत्र सुरक्षित देखेर मैले शशांकलाई तिमीकहाँ पठाएको छु । सकेको सहयोग गरिदेऊ, म तिमीलाई हेर्छु ।’ त्यसो त पहिला पनि उनलाई पार्टीले के हेरेको थियो र ? अब त झन् हेर्ने कुरै केही रहेन ।

तिलकले जीवनभर दिलोज्यान लगाएर निर्माण गरेको क्षेत्र काँग्रेसका लागि सुरिक्षत त बनाउनुभयो तर त्यहाँबाट आफै जनप्रतिनिधि भएर आफैले संगठन गरेको क्षेत्रका नागरिकको अझै बढी सेवा गर्ने अवसर भने प्राप्त गर्नुभएको छैन।

विसं २००१ मा बागलुङको दमेकमा जन्मिएका तिलक सापकोटा स्कुल जीवनदेखि नै कांग्रेसको राजनीतिमा लाग्नुभयो । यसकारण पनि उहाँलाई जिल्लामा पञ्चेहरुले तारो बनाएका थिए ।

पार्टीमा संगठक बनेर लागेका उहाँ यही कारण आफ्नो पुस्तैनी थातथलो छोड्नुपर्ने अवस्था पनि आयो र पछि नवलपरासीको गैंडाकोट उत्रिनुभयो । २०२८ सालमा गैंडाकोट पुगेर आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिनुभयो जहाँ पिताजी भुमिश्वरको साथ सहयोगले उहाँलाई राजनीतिक जीवन हाँक्न सजिलो पनि बनायो ।

बीपीले हरेकपटक भेटमा कांग्रेसलाई बुझ्ने र बचाउने हो भने ‘किसुनजी, सीके (प्रसाईं), गिरिजाबाबु र गणेशमानलाई पढ्नू’ भन्नुहुन्थ्यो । त्यो भनेको किसुनजीको सन्तपन, सीकेको समाजवादी विचार, गिरिजाको संगठन क्षमता र गणेशमानको त्यागलाई एक ठाउँमा राखेर कांग्रेस बुझ्नु जरुरी छ भनिएको हो । सायद यही प्रभावले उहाँलाई पनि छोयो र यस्तै प्रभाव पर्यो ।

उहाँले जहिले पनि आदर्शलाई नै पछ्याउनुभयो कहिल्यै केन्द्रमा जाने र नेताको वरिपरि रहने काममा विश्वास गर्नुभएन । आफ्नो गाउँठाउँका जनताको केन्द्रमै रहेपनि काठमाडौंको राजनीतिको केन्द्रमा नपुगेकोमा भने उहाँलाई उति पछुतो छैन ।

भन्नुहुन्छ– म पनि अरु नेताहरु सरह नै केन्द्रको छत्रछायाँमा पुगेको भए अहिले उनीहरु सरह नै शक्ति र सम्पत्तिको मातमा गन्हाउने पनि थिएँ होला । मेरो नाम लिँदा अहिलेसम्म कसैले नाक खुम्च्याउनु परेको छैन, मेरा लागि यो नै ठूलो कुरा हो ।

भनिन्छ, फुलको बास्ना डाँडावारि, मान्छेको बास्ना डाँडापारि । हो, पार्टी र काठमाडौँमा रहेको नेपालले तिलक र उनीजस्ता हजारौं समाजसेवीहरुलाई नचिनाए पनि तिलकको कामले उहाँको बास्ना डाँडापारिसम्म छरिदिएको छ । आज तिलकको कामले नै देशले उहाँलाई चिन्ने अवसर प्राप्त गरेको छ ।

अनि उहाँजस्ता निस्वार्थी आत्माहरुको सत्कर्मको मलजलले नै नेपाली काँग्रेसको रुख झाँगिएर देशैभरि हाँगाबिँगा फैलाउन सक्ने भएको छ । यसको मूल्यांकन काठमाडौँको काँग्रेसले नगरेपनि देशैभरका काँग्रेसजनले भने गरिरहेकै छन् ।

उहाँको पदचाप पछ्याउन सकेमा मात्र वीपीले परिकल्पना गरेको समाजवादी र प्रजातान्त्रिक काँग्रेस सम्भव छ र यही काँग्रेसबाट मात्र देश र जनताको हित सम्भव छ भन्ने निष्कर्ष यो डायरीले निकाल्न सफल भएको छ ।

यो डायरी पढिसक्ने जो सुकैलाई पनि लाग्छ– आफ्नो निष्ठा, समर्पण र इमान्दारिताले आर्जन गरेको वैभवमै रमाइरहेका उहाँजस्ता वीपीका सच्चा अनुयायीको सन्तुष्टि र पार्टीप्रति कुनै गुनासो नदेख्दा लाग्छ उहाँबाट सिक्न सकिने खुशीसहित अरु पनि धेरै कुरा छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो