कोरोनाको संक्रमण तिव्र हुँदा पोखराका व्यवसायीमा चिन्ता, व्यवसाय कसरी बचाउने ?

उपेन्द्र शाही
७ वैशाख २०७८ १५:२७

काठमाडौं। कोरोना संक्रमणको जोखिम उच्च भएसँगै देश सेमी लकडाउनको अवस्थामा प्रवेश गरेको छ। सरकारले कोरोना जोखिम उच्च रहेको स्थानहरुमा शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ भने २५ जना भन्दा बढी भेला नहुन र सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड कडाईकासाथ पालना गर्न सार्वजनिक अपिल गरेको अवस्था छ। यस्तो अवस्थामा त्राण पाउनै लागेको पर्यटन क्षेत्र धाराशायी हुने र कसरी व्यवसाय टिकाई राख्ने चिन्ता बढेको छ।

यसका साथै पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल घट्न थालेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण करिव ६ महिना बढी ठप्प रहेको पोखरामा पर्यटकको चहलपहल बढ्दो अवस्थामा थियो। तर, फेरी कोभिडको संक्रमण बढेसँगै पर्यटकीय गतिविधिमा पनि अर्को धक्का लाग्ने चिन्ता बढेको हो।

कोभिड १९ को प्रभावले सबैभन्दा धेरै प्रभावित बनेको पर्यटन व्यवसायले त्राण लिनै लाग्दा पुनः कोरोना संक्रमणले चिन्तित बनाएको पोखराका होटेल व्यवसायी सुशिल पौडेलले बताए।  “६ महिना बढी हामीलाई लकडाउनले थिलो थिलो बनायो,” उनले भने,  “केही दिनदेखि कोरोनाको नयाँ लहर फैलिने हल्ला छ। यसले पर्यटकीय गतिविधिमा थप घक्का लाग्ने निश्चित छ। केही मात्रामा भए पनि आन्तरिक पर्यटकको चहलपहल राम्रो थियो र विदेशी पर्यटकमा पनि हिमाल आरोहण र पर्वतारोहणमा चहलपहल बढेको थियो। अहिले पुन :  कोरोना संक्रमण तिव्र छ। सरकारले पनि नयाँ निर्देशिका जारी गरेको अवस्थामा हामीसामु कसरी व्यवसायी टिकाइ राख्ने भन्ने चुनिति र चिन्ता छ।”

सरकारले पर्यटन व्यवसायीलाई उपेक्षा गरेको भन्दै उनले घर भाडा लगाएतका क्षेत्रमा सरकारले आफूहरुलाई सहुलियतको व्यवस्था गर्नु पर्ने नभए व्यवसाय नै संकटमा पुग्ने बताए।  ‘तिर्नु पर्ने सबै तिर्नु पर्ने र आम्दानीका स्रोतहरु घट्दै शून्यमा जाने अवस्थालाई सरकारले देख्नु पर्छ। घर भाडा लगाएत, बिजुली बत्ती, पुर्नकर्जा र सहुलियत कर्जामा सरकारले सहुलियत दिएर व्यवसाय र यो क्षेत्रमा कार्यरत मजदुरलाई बचाउनु पर्छ,’ उनले भने।

नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार पछिल्लो केही महिना यता आन्तरिक र बाह्या पर्यटकको चहलपहल बढिरहेको छ। तर, नयाँ प्रजातिको कोरोना भाइरस कोमिड १९ ले विश्वव्यापी आतंक मचाइरहँदा तङ्ग्रिन लागेको पर्यटन व्यवसायलाई थप चिन्तित बनाएको पर्यटन बोर्डका निर्देशक मणिराज लाामिछानेले बताए।

“नयाँ वर्षको सुरुवातसँगै नेपाल आउने बाह्य पर्यटकको संख्या बढेको थियो भने आन्तरिक पर्यटकको राम्रो चहलपहल थियो। तर, केही दिन यता देशमा कोरोना संक्रमण तिव्र छ। एक किसीमले बल्ल तल्ल अगाडि बढीरहेको पर्यटन क्षेत्रलाई यसले संकटमा पुर्याउने हो कि भन्ने चिन्ता बढेको छ” उनले भने।

अघिल्लो अप्रिलमा लकडाउन भए पछि गत नोभेम्बरदेखि औपचारिक रुपमा पर्यटन व्यवसाय सुचारु भएका थिए। त्यसपछि नोभेम्बरमा १९ सय पर्यटक नेपाल भित्रियको यो संख्या प्रत्येक महिना बढेर गत मार्च महिनासम्म आउँदा १५ हजारसम्म पुगेको थियो। संख्या बढीरहेको देखिन्छ। पर्यटकको चहलपहल बढेको पोखरामा नयाँ प्रजातिको भाइरस संक्रमण जोखिम बढेको छ।

कोभिड १९ ले देशभरका धेरै प्रभावित १४ वटा जिल्लामध्ये कास्की पनि परेकोले सुरक्षा व्यवस्था कडाईकासाथ पालना गराइने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए। सरकारले नयाँ निर्देशिका जारी गरेपश्चात मंगलबार डिसीसीएमसी बैठक बस्ने र संक्रमण रोकथामका लागि संघीय सरकारको निर्देशन र थप रणनीति बनाईने बताए।

कास्कीमा पछिल्लो समय कोरोना संक्रमण बढेको छ। काठमाडौं पछिको धेरै संक्रमण फैलिएको कास्कीमा हाल ९ हजार भन्दा धेरै संक्रिय कोरोना संक्रमित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *