१५औं महाधिवेशनको तयारीमा कांग्रेसको इतर पक्ष: महाराजगञ्जमा स्थापना गर्‍यो सम्पर्क कार्यालय

डिसी नेपाल
२२ असार २०८३ १७:०१

काठमाडाैं। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै काठमाडौंको चुनदेवी, महाराजगञ्जमा सम्पर्क कार्यालय स्थापना गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति सदस्यहरूको सक्रियतामा सोमबार सो कार्यालयको उद्घाटन गरिएको हो।

कार्यालय उद्घाटनसँगै इतर पक्षको औपचारिक बैठक समेत सुरु भएको छ। उद्घाटन समारोह तथा बैठकको प्रारम्भिक सत्रमा पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा देखिएका विवाद तथा पार्टीका पछिल्ला गतिविधिबारे आफ्नो धारणा राखेका थिए।

बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले पार्टीलाई विभाजनको संकटबाट जोगाउन शीर्ष नेताहरू र केन्द्रीय सदस्यहरूले निरन्तर प्रयास गरिरहेको दाबी गरे। तर, पछिल्ला पाँच महिनामा एकताका लागि गरिएका प्रयासहरूबाट कुनै ठोस परिणाम भने निस्कन नसकेको उनको भनाइ थियो।

उनले वर्तमान जटिल राजनीतिक परिस्थितिको सामना गर्न र मुलुकमा लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेसभित्र बलियो एकता अपरिहार्य रहेको उल्लेख गरे। नेता विश्वकर्माले निर्वाचन आयोग र अदालतबाट कानुनी मान्यता प्राप्त गरेको वर्तमान नेतृत्वले पार्टी एकताका लागि प्रभावकारी र जिम्मेवार पहल गर्न नसकेको गम्भीर आरोप समेत लगाए।

सोमबारको बैठकले आगामी साउन ६ गते पर्ने जननायक विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ। यस कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गर्नका लागि मंगलबार पुनः बैठक बस्ने तयारी गरिएको छ।

मंगलबार बस्ने बैठकले १५औँ महाधिवेशनको भावी कार्यतालिका, नयाँ सम्पर्क कार्यालयमार्फत सञ्चालन गरिने सांगठनिक गतिविधि तथा देशव्यापी तयारीका बारेमा थप महत्त्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ।

पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवादबारे थप टिप्पणी गर्दै नेता विश्वकर्माले वर्तमान नेतृत्वकै कार्यशैली र अडानका कारण पार्टी एकताको प्रक्रियामा मुख्य बाधा पुगेको दाबी गरे। पार्टीभित्र संस्थापन पक्षले लिएको विशेष महाधिवेशनको अडानकै कारण यसअघिको निर्वाचनमा कांग्रेसले अपेक्षित नतिजा हासिल गर्न नसकेको उनको जिकिर थियो।

उनले आन्तरिक कलहकै परिणामस्वरुप पार्टी प्रतिनिधि सभामा ८९ सिटको बलियो उपस्थितिबाट खुम्चिएर ३८ सिटमा सीमित हुनुपरेको भन्दै नेतृत्वको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *