यो बेइमानहरुले गोली हानेर बनाएको संविधान हो : राजेन्द्र महतो

डिसी नेपाल
११ वैशाख २०७८ १९:४३

अमेरिका । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपालको संविधानलाई बेइमानहरुले गोली हानेर बनाएको संविधान भनेका छन् । डिसी नेपालको द ब्रिज टक शोमा अर्जुन दाहालसंग कुराकानी गर्दै उनले प्रतिप्रश्न गरे—यो संविधान संशोधन गरेर के गर्ने ?

संविधान संशोधनका लागि एजेण्डा बनाउंदै आएको मधेशी नेताहरुमध्येका एक उनले बर्तमान संविधानप्रति आक्रोश पोख्दै भने, ‘गोली ठोकेर संविधान बनाउने ? कुर्सीका लागि ?’

सत्ता संकटमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना मागहरु पूरागर्न तयार हुन थालेको र कांग्रेस सभापति शेरबहादुर देउवा पनि कुर्सीका लागि मागबारे सुनुवाइ गर्न तयार भएको भन्दै उनले सत्तरी बर्षमा सातवटा संविधान बनाउंदै मिल्काउंदै गरेको आरोप लगाए । त्यसैले कांग्रेस, कम्युनिष्टको शासन फेल भइसकेको शासन भएको उनको जिकिर थियो । अहिलेको संविधानविरुद्ध आक्रोशित देखिएका महतोले संविधान संशोधनका लागि बल्ल आयोग बनाउनेतिर पहल भइरहेको जानकारी गराए ।

नेपाली कांग्रेस र माओवादी मिलेर सरकार बनाउन खोजेको तर त्यसका लागि केही कदम नचालेको आरोप लगाए । उनले भने, ‘कांग्रेसलाई, देउपालाई पद चाहिएको भए अविश्वासको प्रस्ताव ल्याउनु पर्यो नि , माओवादीलाई केपी ओली फाल्नु छ भने समर्थन फिर्ता लिनु पर्यो नि ।’ उनले कांग्रेस र माओवादीसंग आक्रोश पोख्दै भने, ‘आफूहरु अविश्वासको प्रस्ताव पनि नल्याउने, समर्थन फिर्ता पनि नलिने अनि जनता समाजवादीले निर्णय गरिदिएन भनेर भन्ने ?’

महतोले समय आएपछि जसपाले उचित निर्णय गर्ने बताए । ‘सत्ता समीकरणको विषय औपचारिकरुपमा संसदमा आउनु पर्यो अनिमात्र निर्णय गर्ने बेला हुन्छ भन्ने धारणा आफ्नो पार्टीको भएको उनले बताए । सरकार त छंदै छ नि ? के संकट आइलाग्यो खोइ अविश्वासको प्रस्ताव ? एजेण्डा संसदमा पेश होस् न । कांग्रेस, माओवादी केही नगर्ने अनि उहांहरुको लागि हामीले निर्णय गरिदिनु पर्ने ?’, उनले भने,‘ तिम्रो नेतृत्वमा हामी सरकार बनाइदिन्छौं भनेर हामीले पहिले नै भन्नु पर्ने हो ?’

उनले आफ्नो पार्टी सरकार बनाउने, विगर्ने भन्दा पनि आफ्ना मागहरु पूरा गराउन लागिपरेको जिकिर गरे । उनले ओली, देउवा र प्रचण्ड एउटै भएको दावी गर्दै तिनै शक्ति मिलेर अहिले संविधान जनतालाई गोली हानेर बनाएको आरोप लगाए । उनीसंगको पूरा अन्तर्वार्ता तलको लिंकमा हेर्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *