एक रुखको काष्ठमण्डप पुर्ननिमार्णमा काठको समस्या, तोकिएको समयमा पूरा भएन

उपेन्द्र शाही
१२ वैशाख २०७८ ६:१९

काठमाडौं। विनाशकारी भूकम्पको ६ वर्ष बित्दा पनि बहुआयामिक महत्व बोकेको काष्ठमण्डपको पुर्ननिर्माण सम्पन्न हुन सकेको छैन। समयमा काठ उपलब्ध नभएका कारण लिच्छिविकालीन सम्पदा काष्ठमण्डपको पुर्ननिर्माण पूरा हुन नसकेको आयोजना कार्यलयले बताएको छ।

नेपाली कलाको विशिष्ट नमुना काष्ठमण्डप ६ वर्षपछि वैशाख १२ गते भूकम्प गएकै दिन उद्घाटन गर्ने भनिएको थियो। उद्घाटन गर्ने भनिए पनि समयमै काठ आउन नसक्दा अझै ३ महिना लाग्ने काष्ठमण्डप पुर्ननिर्माण समितिका सचिव गौतम डंगोलले बताए। सरकारहरुबीच समन्वयको अभाव हुँदा र प्रत्यक्ष काठ खरिद गर्न नपाउँदा निर्माण कार्यमा समस्या हुँदै आएको उनको भनाइ छ।

विनाशकारी भूकम्पका कारण जग बाहेक सबै भत्किएर कुरुप बनेको काष्ठमण्डप पाँच महिना पहिले नै पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको थियो। तर, काठ नपाएकै कारण मण्डप पुर्ननिर्माण अझै समय लाग्ने भएको हो।

तीन तले काष्ठमण्डपको हाल अन्तिम अर्थात तेस्रो तलामा फिनिसिङको काम भइरहेको छ। म्ण्डपको तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ विस. २०७५ साल वैशाख १८ गतेदेखि औपचारिक रुपमा पुर्ननिर्माण सुरु भएको थियो। मण्डप पुरातत्व विभागको मापदण्डअनुसार मौलिक स्वरुपमा पुर्ननिर्माण भइरहेको छ।

काष्ठमण्डप कसले बनाए? किन बनाए? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ। तर, बेलायतको एउटा विश्वविद्यालयमा गरिएको परीक्षणबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ। बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो।

आयोजना प्रबन्धक मणिन्द्र श्रेष्ठले मौलिकताको आधारमा काष्ठमण्डप पुर्ननिमार्णमा विशेष ध्यान दिइएको बताए। “विनाशकारी भूकम्पले जग बाहेक केही बाँकी राखेको थिएन। यहाँका बासिन्दाहरु र जानकारहरु यो विषयले धेरै चिन्तित थिए।

उनीहरुमा यसको महत्व र प्राचिनता हराएर जाने त होइन भन्ने ठूलो चिन्ता थियो। हामीले यहाँका स्थानीय वासीन्दा लगायत पुरातत्व विभागसँग बृहत छलफल गर्यौँ। त्यसैअनुसार अहिले पुर्न निर्माणको अन्तिम चरणमा छ,” उनले भने।

विभिन्न कालखण्डमा मर्मत संभार गर्दा सिमेन्ट, कंक्रिट प्रयोग भएता पनि अहिले त्यो सबै हटाइएको बताउँदै उनले यसमा प्रयोग भएका सीप, स्रोत, साधन सबै परम्परागत रहेकोले हाल निर्माण भइरहेका सबै सम्पदा भन्दा काष्ठमण्डपको निर्माण कार्य सबैभन्दा मौलिक रहेको बताए। यसमा प्रयोग भएको करिव १५ प्रतिशत काठ भने पुरानै हो। यहाँभित्र गोरखनाथदेखि विभिन्न भैरव र गणेशका मूर्तिहरू पहिले जस्तै राखिने छ।

काष्ठमण्डप करिव एक रोपनी क्षेत्रफलमा फैलिएको छ। यसको निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाको मातहतमा उपभोक्ता समितिले लिएको छ। करिव २० करोड रुपैयाँको लागतमा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु भएकोमा हालसम्म करिव ९ करोड खर्च भएको आयोजना सचिव डंगोलले बताए। उनका अनुसार बाँकी काम करिव ५ करोडमा सम्पन्न हुनेछ। जुन आँकलन गरिएको भन्दा ७ करोड कम हुन आउँछ।

एक रुखको काष्ठमडप

इतिहास, कथा, जनश्रुति अनुसार काष्ठमण्डप एउटै रूखको काठ प्रयोग गरी बनाइएको हो। रूख यति ठूलो थियो कि त्यसबाट पूरा काष्ठमण्डप बनाइसक्दा पनि काठ सकिएन। बाँकी रहेको काठबाट काष्ठमण्डपको छेउमा अर्को एउटा सत्तल पनि बनाइयो जसलाई ‘सिँल्यं सतः’ अर्थात् ‘बाँकी रहेको काठको सत्तल’ भनिन्छ। काष्ठमण्डप बनाउन यस्तो अनौठो काठ जुन रूखबाट प्राप्त भएको हो त्यो रूखलाई कल्पवृक्ष भनिएको छ।

काष्ठमण्डप कसले बनाए? किन बनाए? यो वास्तवमा अझै पनि विवाद र बहसको विषय बनिरहेको छ। तर, बेलायतको एउटा विश्वविद्यालयमा गरिएको परीक्षणबाट काष्ठमण्डप सातौं शताब्दीमा बनेको पुष्टि भएको छ। बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा नमुना परीक्षण गर्दा यो तथ्य पत्ता लागेको हो।

भूकम्पको केही महिनापछि काष्ठमण्डपको केही भाग उत्खनन भएको थियो। काष्ठमण्डप पुर्ननिर्माण समितिका सचिव गौतम डंगोलले भने, “पहिलाको इतिहास, कथा, जनश्रुति विभिन्न पुस्तकका आधारमा थियो, अहिले वैज्ञानिक रूपमा पुष्टि भयो।

उत्खननका क्रममा त्यहाँको जगमा कोइला भेटिएको थियो। कोइला र जगको माटो, बालुवा परीक्षण गरिएको थियो। कोइलाको सी–१४ डेटिङ, जगको बालुवा, माटो, काठको ओएसएल डेटिङ टेस्ट गरिएको थियो। जसअनुसार काष्ठमण्डप सातौं शताव्दीको भएको पुष्टि भएको छ।”

उनले काष्ठमण्डपको भित्री जग सातौं शताव्दीको पत्ता लागेको बताए। त्यस्तै थामको माथिको बुथ पाचौँ शताव्दीको र थामहरु १० औँ शताव्दीको अनुसन्धानबाट पत्ता लागेको उनले बताए।

कलात्मक वास्तुकलाका दृष्टिले काष्ठमण्डप निकै महत्वपूर्ण र आर्कषक छ। काष्ठकला, चित्रकला र धातुकलाका विशिष्ट नमुनाहरुले पनि काष्ठमण्डपलाई खास बनाएको छ। युनेस्कोले हनुमान ढोका क्षेत्रलाई विश्वसम्पदा सूचीमा राख्नुको पछाडि पनि काष्ठमण्डप एक प्रमुख कारण हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *