आवश्यक संख्या नपुगी काँग्रेसले अविश्वास प्रस्ताव नल्याउने

डिसी नेपाल
१२ वैशाख २०७८ १७:५०

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमा केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको चर्चाका बीच उसले आवश्यक संख्या नपुगी अविश्वास प्रस्ताव नल्याउने बताएको छ।

आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा काँग्रेसले अविश्वास प्रस्तावबारे छलफल नै नगरेको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उपसभापति विमलेन्द्र निधीले बताए। उनका अनुसार आइतबारको बैठकमा कोरोना भाइरसको दोस्रो लहरका विषयमा छलफल भएको छ।

उनले भने, ‘कोरोना संक्रमणको दोस्रो लहर खतरनाख रुपमा बढिरहेको छ। सरकारको हालत यस्तो छ, अब के गर्ने भन्ने विषयमा छलफल भयो। भोलि (सोमबार) बस्ने बैठक सरेको छ। कोरोना परीक्षण गरेर बैठक बस्ने कुरा भएको छ।’ उनले अहिले सबैको ध्यान कोरोना नियन्त्रणतर्फ हुनुपर्ने काँग्रेसको निष्कर्ष रहेको बताए।

वर्तमान राजनीतिबारे बैठकमा छलफल नै भएको भन्दै उनले अहिले तत्कालिन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव नआउने बताए। उनले भने, ‘अविश्वासको प्रस्ताव सफल पार्न आवश्यक संख्या नपुगी अविश्वासको प्रस्ताव ल्याउँदैनौं। अहिले संख्या पुग्ने पनि देखिएको छैन। आफै खाल्डोमा जाने प्रस्ताव ल्याउँदैनौं।’ उनले अविश्वास प्रस्तव असफल भए एक वर्षसम्म फेरि अविश्वासको प्रस्ताव ल्याउन नपाइने भएकाले सफल हुने निश्चित नभएसम्म प्रस्ताव नआउने बताए। अविश्वासकाे प्रस्ताव सफल हुन हाल १३६ सिट चाहिन्छ तर काँग्रेससँग ६१ सिटमात्र छ।

काँग्रेसले गत चैत २० गतेको केन्द्रीय कार्यसमिति बैठकबाट ओली सरकारको विकल्पमा काँग्रेस नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो। तर, काँग्रेसले हालसम्म अविश्वास प्रस्तावको पक्षमा दलहरुबाट आवश्यक सहयोगको बचन नपाएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *