तनाव व्यवस्थापन गर्न नसक्दा वर्षेनी बढ्दै आत्महत्याको दर

डिसी नेपाल
१३ वैशाख २०७८ ९:०७

सुर्खेत।
घटना: १
वीरेन्द्रनगर वडा नम्बर ६ का गणेश (नाम परिवर्तन) स्तातकोत्तर तहमा पढ्दै थिए। उनी पढाइमा मेहनती पनि थिए। उमेर बढ्दै जाँदा उनी एक युवतीको प्रेममा परे। एउटै क्याम्पस भएका कारण प्रेम झन् प्रगाढ हुँदै गयो। करिव दुई बर्षसम्म चलेको प्रेम फक्रन भने पाएन। गणेशले गत मंसिरमै विवाह गर्ने योजना बनाए। तर उनको योजनामा प्रेमीका सहमत भइनन्। अनि सम्बन्धमा उतारचढाव आयो। प्रेममा असफल भएपछिको तनाव उनले थेग्न सकेनन्। अन्ततः उनले मृत्यु रोजे। विवाह गरेर आफन्त र परिवारलाई खुशी बनाउने सोचेका उनले तनाव व्यवस्थापन गर्न नसकेर आत्महत्या गरे।

घटना: २
जाजरकोटका चन्द्र (परिवतित नाम) चार बर्षअघि अध्ययन गर्न सुर्खेत झरे। चार बर्षदेखि लोकसेवा आयोग र क्याम्पस दुबैलाई निरन्तरता दिए। तर समय सोचे जस्तो भएन। सँगैका साथीहरु कोहीले क्याम्पसको पढाइ पुरा गरे त कोही लोकसेवा पास गरेर स्थायी जागिरे भए। चन्द्रले भने क्याम्पस र लोकसेवा दुबैमा असफल भए। ब्याजलर तेस्रो र चौथो बर्षमा असफल भए। पटक–पटक लोकसेवाको प्रि–टेष्टमा सफल हुने तर दोस्रो पत्रमा असफल भए। जेठो छोरा भएका कारण पढाइ, जागिर र घर व्यवहार धान्नुपर्ने बाध्यता थियो। असफलतालाई व्यवस्थापन गर्न नसक्दा गएको जेठमा उनले पनि आत्महत्या गरे।

गणेश र चन्द्र मात्रै होइन, समयमै तनाव व्यवस्थापन गर्न नसक्दा अधिकांश युवापुस्ताले मृत्यु रोज्ने गरेको पाइएको छ। पछिल्लो चार वर्षको अवधिमा सुर्खेतमा कुल चासय २१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। प्रहरीका अनुसार आत्महत्या गर्नेमा युवा पुस्ता नै सबैभन्दा बढी छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा ९१ जना, ७५÷०७६ मा ९३ जना, ०७६÷०७७ एकसय २८ जना र चालु आर्थिक बर्षको चैत समान्तसम्म एकसय नौ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेहरु अधिकांश १० देखि ६० बर्ष समूहका छन्।

ती मध्ये पनि १८ बर्षदेखि ६० बर्ष उमेर समूहका सबैभन्दा बढी छन्। अनुसन्धानमा खटिएका प्रहरीका अनुसार धेरै जसोले अभाव, तनाव, गरिवी, घरेलुहिंसाका कारण आत्महत्या रोज्ने गरेका छन्। त्यस्तै पारिवारिक कलह, असफलता, नैराश्यता, मानसिक रोग, दीर्घरोग तथा सामाजिक सञ्जालको गलत प्रयोगका कारण पनि आत्महत्या गर्ने गरेको सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए। उनका अनुसार अभिभावकले आफ्ना सन्तानको मानसिक तनावबारे चासो नदिनाले पनि यो समस्या बढिरहेको हो। हरेक वर्ष आत्महत्याको दर बढेको भन्दै प्रहरीले मनोपरामर्श र जीवन उपयोगि सीपबारे युवाहरुलाई जानकारी दिनुपर्ने बताएको छ। तनाव व्यवस्थापन गर्न सकेमा मात्र आत्महत्याको दर कम गर्न सकिने प्रहरीको भनाइ छ।

सहरमा आत्महत्या धेरै
गाउँको तुलनामा सहरमा आत्महत्याका घटना बढी हुने गरेको पाइएको छ। चालु आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा सुर्खेतको वीरेन्द्रनगरमा आत्महत्याका घटना सबैभन्दा बढी र चौकुने गाउँपालिकामा सबैभन्दा कम आत्महत्याका घटना भएका छन्। तथ्याङ्क अनुसार वीरेन्द्रनगर नगरपालिकाभित्र ४३ जना र चौकुनेमा दुई जनाले आत्महत्या गरेका छन्। जसमा पनि वीरेन्द्रनगर–१६ मा दुईजना, वडा नं. १ मा नौ जना, वडा नं. ६, ९, १२, १३ मा एक÷एक जनाले आत्महत्या गरेका छन्। यस्तै पञ्चपुरी नगरपालिकामा तीन जना, लेकवेशी नगरपालिका ११ जना, बराहताल गाउँपालिकामा पाँचजना, चिङ्गाड गाउँपालिकामा तीन जना, सिम्ता गाउँपालिकामा १० जना, भेरीगंगा नगरपालिकामा १७ जना र गुर्भाकोट नगरपालिकामा १५ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्नेमा पुरुष धेरै
आत्महत्याका गर्नेहरुमा महिलाको तुलनामा पुरुषहरु धेरै रहेको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७७÷०७८ मा सुर्खेतमा ७६ जना पुरुषले आत्महत्या गरेका छन्। तथ्याङ्क अनुसार महिला २२ जना, बालबालिका ११ जनाले आत्महत्या गरेका छन्। उमेरका आधारमा १० बर्षभन्दा मुनिका चार जना, १० देखि १४ बर्ष उमेर समूहका दुई जना, १४ देखि १८ बर्ष उमेर समूहका १३ जना, १८ देखि ६० बर्ष उमेर समूहका ८० जना र ६० बर्षभन्दा माथिका १० जनाले आत्महत्या गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *