जापान पठाइदिने नाममा २ सय १९ जनालाई ठगी, अर्काको नागरिकता प्रयोग गरे पनि आफ्नो फोटो टाँस्दा प्रहरी फन्दामा

डिसी नेपाल
२१ वैशाख २०८१ १३:५१
88
Shares

काठमाडाैं। वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै २ सय १९ जनालाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै जापान पठाइदिने भन्दै ठगी गर्ने रामेछाप घर भएका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र झापा घर भएका पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

नियोनी एजुकेसन प्रा.लिबाट जापान जानको लागि अवसर रहेको विज्ञापनका आधारमा सम्पर्कमा पुगेका युवाहरुलाई उनीहरुले खातामा पैसा हाल्न लगाएका थिए।

जापानमा रहेको कलेजमा शुल्क बुझाउनको लागि लाग्ने रकम नारायणबहादुर राईको नाममा रहेको सानिमा बैंकको खातामा र पर्वराज भन्ने ईश्वरी पाण्डेको कामना विकाश बैंकको खातामा रकम पठाउन लगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उक्त घटनामा उजुरी परेपछि अनुसन्धान गर्दै जाँदा नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी राजन श्रेष्ठले र पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरी ईश्वरी पाण्डेले विदेशमा जान चाहने युवायुवतीहरुलाई ठगी गरेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

अनुसन्धानका क्रममा दिप बहादुर तामाङ मार्फत् १३ जनाबाट ३७ लाख रकम लिएको देखिएको, सुनील कुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख रकम लिएको देखिएको प्रहरीले जनाएको छ। वैदेशिक रोजगार विभागमा अन्य करिब १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको बुझिएको प्रहरीले जनाएको छ।

त्यस्तै वास्तविक नारायणबहादुर राईलाई सम्पर्कमा ल्याई बुझ्दा निजको नागरिकता १५-१६ वर्ष अगाडि हराएको र विगत ३ वर्ष देखि पठाओ चलाई जिबिका चलाउने सामान्य व्यक्ति रहेको र निजले हालसम्म कुनै कम्पनी वा कन्सल्टेन्सी दर्ता नगरेको खुल्न आएको पनि प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *