जोखिमपूर्ण हवाइयात्रा : गुड्नेलाई प्रतिबन्ध, उड्नेलाई छुट किन?

डिसी नेपाल
१५ वैशाख २०७८ १४:४८

काठमाडाैं। बैशाख १६ देखि लागू हुने निषेधाज्ञा अवधिमा हवाइ यातायात सुचारु गर्ने सरकारी निर्णयप्रति यातायात व्यवसायी असन्तुष्ट बनेका छन्। यातायात व्यवसायीका अनुसार सरकारले यस्तो विभेदपूर्ण निर्णय गर्नु हुन्नथ्थो। कोरोना संक्रमणको जोखिम हवाइयात्रामा पनि उत्तिकै रहेकोले सरकारको यस्तो निर्णयप्रति नागरिकहरुको समेत गुनासो सुनिन थालेको छ।

मंगलबार बिहान पोखराबाट काठमाडाैं आइरहेका एकजना यात्रुले हवाइ सेवा प्रदायक कम्पनी र सुरक्षामा बसेका प्रहरीले समेत कोरोना संक्रमण बिरुद्ध लागू गर्नै पर्ने न्युनतम स्वास्थ्य मापदण्ड पालना नगरेको गुनासो गरेका छन्।

उनका अनुसार बिहान १० देखि ११ बजेको समयमा पोखरा बिमानस्थलमा यात्रुको चाप थियो। विमानस्थल प्रवेशद्वारमा कुनै सुरक्षा सावधानी अपनाइएको थिएन। सुरक्षा जाँचमा बसेका प्रहरीले यात्रुको टिकट हेर्दै उनीहरुलाई सिधै भित्र पठाइरहेका थिए। प्रस्थानकक्ष छिर्ने बेलामा गरिने अन्तिम जाँचमा मात्र यात्रुलाई स्यानीटाइजर छर्किएर छोड्ने गरेको देखिन्थ्यो।

प्राय: बिमानस्थलमा अहिले विमानसेवा कम्पनीहरुले पनि कोभिड सुरक्षा मापदण्ड उलंघन गरिरहेको भेटिन्छ। विमानस्थलमा यात्रुहरुलाई निश्चित दूरीमा बस्न सहज हुनेगरी प्रष्ट संकेत राखिएको छ। तर तीनलाइ न यात्रुले पालना गरेका छन् न त विमानस्थल व्यवस्थापनले पालना गराउनका लागि ध्यान दिएको छ।

ड्यूटीमा रहेका प्रहरी र विमानसेवा कम्पनीका कर्मचारीहरुले पनि यसलाई वेवास्था गरेको देखिन्छ। काठमाडाैं र पोखरा बिमानस्थलमा यस्तो पाइएको ती यात्रुले डिसी नेपाललाई बताए। काठमाण्डौ बिमानस्थलमा भने ज्वरो नाप्नेसम्म गरेको भेटिन्छ।

काठमाडाैं उपत्यका लगायत देशका बिभिन्न स्थानमा निषेधाज्ञा हुने भएपछी प्राय: विमानस्थलहरु अहिले यात्रुले भरिभराउ हुन थालेका छन्। विमान कम्पनीहरुले फेससिल्ड त वितरण गर्छन्, मास्क र फेसशिल्डलाई यात्रा अवधिभर लगाउनै पर्ने नियममा कडाइ गरिएको छ। तथापि यात्रुको चापले गर्दा बिमानभित्र साँघुरो सिट र पर्याप्त एसीको अभावमा यात्रुहरु उकुसमुकुस गरी हवाइयात्रा गर्न बाध्य छन्।

यसरी यात्रा गर्दा हवाइजहाजमा कोरोना संक्रमण नफैलिने बसयात्रामा फैलनसक्ने भन्ने बुझाइले काम गरेको हो वा अरु नै केही? नत्र हवाइसेवालाइ छुट तर सार्वजनिक यातायातलाई प्रतिबन्ध गर्नुको कारण के होला त?

यसको जवाफ सरकारले चित्तबुझ्दोसँग दिन सकिरहेको पाइँदैन। बस सेवा सञ्चालकहरुले पनि पूर्ण रुपमा कोभिड सुरक्षा मापदण्ड पालना गरेर बस चलाउँछौं भनिरहँदा उनीहरुलाई प्रतिबन्ध तर लापरवाही ढंगले सेवा दिइरहेका बिमानस्थल र हवाइसेवा कम्पनीहरुलाई छुटले के कोरोना नियन्त्रणमा आउला त?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *