अरु क्षेत्र बन्द हुँदा लगानीकर्ताको ध्यान सेयर बजारमा

उपेन्द्र शाही
१६ वैशाख २०७८ १७:१०

काठमाडौं। पछिल्लो समय सेयर बजारमा आकर्षित हुने मान्छेहरुको संख्या बढ्दो छ। सरकारले जारी गरेको निषेधाज्ञाका कारण व्यापार व्यावसाय र पसलहरु बन्द छन् भने सवारी साधन चलाउन रोक लगाइएको छ।

अन्य क्षेत्र बन्द भएको र कमाइ भन्दा पनि खर्च धेरै भइरहेको यस्तो अवस्थामा मान्छेहरुको ध्यान सेयर बजार तिर छ। गत वर्ष मात्रै सेयर बजारले कोरोनाको असर परेपछि नै ठूलो छलाङ मारेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको थियो। अहिले पनि सेयर बजारका लगानीकर्ताहरु सेयर बजार बढ्नेमा आशावादी छन्।

कोरोनाको दोस्रो लहरले भयावह रुप लिन थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित जोखिम बढी भएका क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ। सरकारले निषेधाज्ञा जारी गरेपछि ब्रोकरमार्फत हुने सेयर कारोबार निषेधाज्ञा अवधिमा विद्युतीय माध्यमबाट गर्नुपर्ने छ।

काठमाडौं उपत्यकासहित करिब दर्जन बढी जिल्लामा निषेधाज्ञा सुरु भएपछिको पहिलो दिन बिहीबार सेयरबजार परिसूचक दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से २५ दशमलव ८२ अंकले उकालो लागेर २६ सय ११ दशमलव १० अंकमा पुगेको छ।

बिहीबार ठूला कम्पनीहरुको सेन्सिटिभ इन्डेक्स पनि आज ३ दशमलव ९१ अंक बढ्यो। कुल २ सय १७ कम्पनीका ९८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भयो।

बिहीबार बजार पुँजीकरण ३६ खर्ब र तरलता १२ खर्ब रुपैयाँको छ। यस दिन बजार खुल्नेबित्तिकै नेप्से ह्वात्तै घटे पनि त्यसपछि क्रमशः उकालो लागेको थियो।

कुल १३ समूहमध्ये आज लगानी, होटल र पर्यटनको सूचक मात्रै ओरालो लागेको छ। खासगरी निषेधाज्ञाको प्रभाव यी क्षेत्रमा देखिँदा दुई समूहको सूचक ओरालो लागेको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *