काेराेना महामारी : तोकिएकै समयमा उपनिर्वाचन होला त ?

सम्भव सिंह ठकुरी
१७ वैशाख २०७८ १३:०३

काठमाडौं। बिहीबार वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा उप निर्वाचनका लागि, निर्वाचन आयोगले राजनीतिक दल दर्ता प्रक्रिया टुङ्याउँदै पार्टीको निर्वाचन चिन्ह र मतदाता नामवली विषयको निर्णय सार्वजानिक गरेको छ।

जेठ ६ गते तय गरिएको उपनिर्वाचनका लागि पाँच ओटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार, आयोगमा स्वीकृत भएको मतदाता नामावली यही बैखाश २१ गते विहान ११ बजे देखि बेलुकी ५ बजे सम्म प्रदेश राजधानी हेटौँडाको निर्वाचन अधिकृतको कार्यलयमा नाम छुटेको व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ।

तर कोरोनाको दोस्रो लहरले संक्रमितको संख्या दैनिक उच्च हुन थालेपछि १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै बैसाख १६ बाट उपत्यका सहित कोरोना संक्रमण बढेको जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ।

कारोनाको महामारी बिच तय भएको उपनिर्वाचन गर्न स्वास्थ्यको दृश्टिकोणले एकदमै चुनौती देखिन्छ। तर देशको बदलिदो राजनीतिक घटनाक्रम र अन्यौलताको निकाश गर्न उपनिर्वाचनको विकल्प देखिँदैन ।

नर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगले तय गरिएकै मितिमा निर्वाचन गर्ने तयारी गरेको छ। सरकारले पनि अहिले निर्वाचन नहुने भनेर निर्णय गरिसकेको छैन। र अर्को कुरा यो उपनिर्वाचन भनेको निर्वाचित पदाधिकारीले नै निर्वाचित गर्ने हो र मतदाताको संख्या पनि एकदमै थोरै छ।

यस उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० र नगरपालिका प्रमुख,उपप्रमुख र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष २३८ गरी जम्मा ३४८ मतदाता रहेका छन्।

‘निर्वाचनको प्रक्रिया हुँदै गर्दा ३४८ जना एकै पटक आउने पनि हैन र आएका मतदाताहरुलाई सामाजिक दूरी कायम गरी पूर्ण स्वास्थ्यको मापदण्ड अपनाएर गराउन सकिने तयारी आयोगको रहेको छ,’ श्रेष्ठले भने।

कोरोनाको यो अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन? भन्ने जिज्ञासा उनले भने, ‘सबैलाई हुनु स्वभाविक विषय हो। तर हामी निर्वाचन हुन्छ भनेर काम गरिराखेका छौँ र सरकारले पनि निर्वाचनको लागि सहज वातावरण बनाउँछ भन्ने हाम्रो विश्वास छ त्यसैले अहिलेको अवस्थामा हुन नसक्ने भनेर आयोगले निर्णय पनि गरेको छैन।’

अनलाइन भोटिङ्को व्यवस्थाको तयारी गर्न पनि त सकिएला नि? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ‘अहिलेको अवस्थामा त्यो तयारी भएको छैन मतदान स्थलमै गएर मतदान गर्ने व्यवस्थाको तयारी गरेका छौँ।

मतदात संख्या थोरै छन् त्यसैले हामीले पूर्ण स्वास्थ्यको मापदण्ड अपनाएर अनिवार्य माक्स,सेनिटाइजर र सामाजिक दुरीको पालना गरेर नै तयारी गरेको छौँ। त्यसैले अहिलेको परिस्थिति अनुसार तय गरिएको मितिमै निर्वाचन सम्पन्न गराउने गरि हामि लागेका छौँ।’

राजनीतिक दलको क्रम निर्धारण के छ त ?

आगामी जेठ ६ गते वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक पार्टीलाई निर्वाचन चिन्ह निर्धारण गरि प्रदान गर्ने आयोगले जनाएको छ।

आयोगका अनुसार नेकपा (एमाले) लाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्वरमा दर्ता गरिएको छ। दोस्रोमा नेपाली कांग्रेसलाई रुख चिन्ह प्रदान गरिएको छ।

क्रमश: तेस्रो,चौथो र पाँचौ मा नेकपा माओवादी (केन्द्र) गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टी लाई हलो र नेपाल किसान मजदुर पार्टीलाई मादल चिन्ह प्रदान गरी मतपत्रमा समावेश भएको निर्वाचन आयोगले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *