लकडाउनको मर्का सम्झिँदै निषेधाज्ञामा तर्सिन्छन् रिक्सा चालक

फुर्पा शेर्पा
१९ वैशाख २०७८ ११:०६

काठमाडौं। ‘कोरोना भन्दा पहिलाको कुरो त के गरौं। दिनमा १ हजार भन्दा बढी कमाई हुन्थ्यो’, सुनसान ठमेलको गल्लीमा रित्तो रिक्सामाथि बसेर ओमनाथ पाठक भन्दै थिए, ‘राति पनि जागा हुन्थ्यो, दिउसो पनि जागा हुन्थ्यो, जता ततै झिलिमिली हुने यहाँको रौनक नै अर्कै हुन्थ्यो।’

पाठककै शब्दलाई सापटी लिने हो भने रातदिन नसुत्ने ठमेलका गल्लीहरु एक्लै छन्, सुनसान छन्। सरकारले कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि गरेको निषेधाज्ञाको तेश्रो दिन बित्दा उनको मनमा डरले बाजा बजाइरहेको छ।

गएको लकडाउन लामो समयसम्म रहेपछि पाठकलाई परिवार पाल्न हम्मेहम्मे भएको थियो। केही संघ संस्थाहरुले लकडाउन भएको सुरुवातीदेखि नै सहयोग पनि गरेका थिए। तर, अहिले तीन दिन बित्दासम्म न कोही सहयोगको लागि आएका छन् न त रिक्सा चलाएरै कमाउने वातावरण बनेको छ उनका लागि।

३८ वर्षे लामो रिक्सा जीवनमा उनलाई पहिलो पटक कोरोनाले प्रभावमा पार्यो। आफ्नो जीविकोपार्जनका लागि रिक्साका पाइडलसँगको लामो संघर्षमा पोहोर भएको लकडाउबाट उनले ठूलो पाठ सिके। उनी प्रतिनिधिपात्र मात्र हुन। उनी जस्तै धेरैको रोजीरोटी खोसिएको थियो।

‘लकडाउन खुलेपछि अलि आशा पलाएको थियो,’ पाठक सुनाउँछन्, ‘फेरि पनि पोहोरकै हाल भो, निषेधाज्ञा भनेको छ। कति दिनसम्म लम्बिने हो। कतिदिनसम्म हामीले भोकै बस्नुपर्ने हो। डर लागि रहेको छ। पोहोरपनि एक हप्ता, अर्को हप्ता भन्दै ६ महिनासम्म भएको थियो। काठमाडौंमा सबैलाई सबैभन्दा ठूलो समस्या हुने भनेको कोठाभाडा तिर्नु हो।’

कोठामा बसेर जागिर गरी कोठाभाडा तिर्नेकालागि लकडाउन र निषेधाज्ञा जस्ता रोजीरोटी खोसिने विषयले निकै ठूलो समस्या सिर्जना गर्छन। पाठक पनि त्यो समस्यामा पर्ने मध्येका एक हुन्। ‘कोठाको भाडा तिर्न नस्कदा पोहोर पनि घरबेटीको किचकिच सहनु प-यो।’

पाठक आउने भविष्य पनि त्यस्तै अन्धकार देख्दै थिए, ‘अहिले पनि त्यो परिस्थितिको सामना गर्नु पर्ने भयो। लामो समयदेखि यही बस्दै आएका कारण चटकै छोडेर जान सकिँदैन। यहीँ बसेर गरौं भने पनि यस्तै खालका समस्याले सताइरहन्छन्।’

कोरोनाले विश्वमा धेरै मानछेको ज्यान लिएको पनि पाठकलाई थाहा छ। ‘रोगले मान्छे मर्छन, के गर्नु हजुर रोगले भन्दा भोकले मरिएलाकी भन्ने पो डर लागेर आउँछ,’ उनको अनुहारभरी बादल मडारिन्छ, ‘रिण तिर्नु छ। जहान परिवार पाल्नु पर्ने, सबै भर भनेको यही रिक्सा हो। यो रिक्सा पनि बन्द भएपछि अगाडीको जीवनलाई कसरी चलाउनु।’ दम्पत्तिले नै औषधि खानु पर्ने बाध्यता रहेको उनको भनाइ छ।

उनीहरु दुबै जना सुगरको रोगी छन्। बाटोमा पसल गरेर श्रीमतीले पनि केही कमाउने गरेको उनले सुनाए। ‘जहान पनि विरामी छ हजुर, कोटामा कति बस्नु भनेर पसल गर्थिन्, त्यो पनि बन्द भयो। मैले पनि विहानैदेखि बेलुकीसम्म रिक्सालाई सहयात्रि बनाएर आफू जिउने प्रयत्न गरिरहन्थे, त्यो पनि हालत उस्तै छ।’

पाठकमात्र होइनन्, ठमेल मै २ दशकदेखि रिक्सा चलाउँदै आएका चन्द्रबहादुर तामाङको कथा पनि केही फरक छैन। अरुको रिक्सा भाडामा लिएर चलाउने गरेका उनी रिक्साको भाडा पनि बुझाउन नसकेको गुनासो गर्छन्। विगतको लकडाउनमा पनि उनले करिव ५ महिनासम्म आफू बसेको कोठाको पनि भाडा तिर्न नसकेको उनको भनाइ छ।

‘सरकारले दुःखमाथि दुःख थप्दै आएको छ,’ चन्द्रबहादुर भन्छन्, ‘हामीलाई रोग भन्दा बढी भोकको डर लागेको छ। रोगसँग लडौंला भोगसँग कसरी लड्नु। पोहोर पनि झण्डै ६ महिना भोकसँग खुब लड्नु पर्यो। ती कहालीलाग्दा दिनहरु अहिले सम्झदा पनि आङ सिरिङ्ग भएर आउँछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *