लुम्बिनी संकटः एमालेका १ सांसदले राजीनामा दिए, अन्य दुईजनाले पनि दिने चर्चा

डिसी नेपाल
१९ वैशाख २०७८ १६:३५

काठमाडौं। लुम्बिनी प्रदेशसभामा आइतबार बिहान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि शुरु भएको नाटकीय राजनीतिक घटनाक्रमले आइतबार अपराह्नसम्म आइपुग्दा अर्कै मोड लिएको छ। मुख्यमन्त्री पोखरेलले दोस्रो कार्यकालका लागि आइतबार शपथ लिएको केही समयपछि नै एमालेका तीनजना सांसदले पदबाट राजीनामा दिएका छन्। तर, हालसम्म प्रदेशसभा सचिवलायमा एकजना सांसदकोमात्र राजीनामा पत्र दर्ता भएको छ।

प्रदेशसभा सचिवलायका सूचना अधिकारी दिनेश अधिकारीले डिसी नेपालसँग फोनमा भने, ‘कपिलवस्तु २ (१)बाट एमालेबाट निर्वाचित दुगनारायण पाण्डेयले दिएको राजीनामा पत्र सचिवलायमा आएको छ। अन्य दुईजनाको हल्ला छ , तर पत्र आइपुगेको छैन।’

८१ सदस्यीय प्रदेशसभामा एमालेले आफ्नो बहुमत रहेको भन्दै प्रदेशप्रमुख समक्ष दावी गरेपछि आइतबार नै राजीनामा गरेका पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएर शपथ लिएका छन्। तर, उनले शपथ लिनुअघि नै एमालेमा गणना गरिएकी विमला केसीले आफू एमालेमा नरहेको भन्दै विज्ञप्ति जारी गरेकी थिइन्। त्यसअनुसार पोखरेलको दल एमालेको एकल बहुमत थिएन। तर, पनि प्रदेश प्रमुखले उनलाई सपथ ग्रहण गराए।

अब ४० मध्ये पनि ३ जनाले राजीनामा दिएर उनीहरुको राजीनामा स्वीकृत भए प्रदेशसभा ७८ सदस्यीय हुनेछ। यस्तो अवस्थामा बहुमतका लागि ४० सदस्य आवश्यक पर्छ। तर, मुख्यमन्त्री पोखरेलसँग ३७ सदस्यमात्र हुनेछन्। यसरी मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा पर्ने देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *