विपक्षीको विरोधका बीच मुख्यमन्त्री पोखरेलले लिए सपथ

डिसी नेपाल
१९ वैशाख २०७८ २०:३४

काठमाडौं। लुम्बिनी प्रदेशका पुनः नियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आइतबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलको विरोधका बीच उनलाई सपथ ग्रहण गराएका हुन्।

पोखरेल स्पष्ट अल्पमतमा रहेको भन्दै विपक्षीहरुले मुख्यमन्त्री नियुक्ती बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिइरहेका बेला पोखरेलले सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणकाे कार्यक्रम मुख्यमन्त्री कार्यालयमा गरिएकाे थियाे।

आइतबार प्रदेशसभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएपछि उनले राजीनामा दिएका थिए। राजीनामा दिएको केही घण्टामै एमालेको बहुमत रहेको भन्दै उनले प्रदेश प्रमुख यादव समक्ष सरकार बनाउने दावी पेश गरे।

तर, सोही बेला विपक्षीहरुले पनि आफूसँग बहुमत रहेको भन्दै सरकार आफूहरुले बनाउने दावी गरे। तर, त्यतिबेला दुबै पक्षसँग बहुमत थिएन। एमालेसँग पनि ४० सिट थियो भने विपक्षीसँग पनि ४० सिट थियो। तर, प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षीहरुले ८१ सदस्यीय प्रदेशसभाका ४२ जना सांसदहरुको हस्ताक्षरसहित आफूहरुसँग बहुमत रहेको भन्दै पोखरेलको नियुक्ती बदर गर्न माग गरे।

तर, प्रदेश प्रमुखले उनीहरुको कुरा नसुनी पोखरेललाई मुख्यमन्त्री पदको सपथ ग्रहण गराएका हुन्। उता सरकारले आइतबार नै प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्ने सिफारिस गरेसँगै प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरिसकेका छन्।

यही प्रकरणलाई काँग्रेसले असंवैधानिक भन्दै बलमिच्याइ भएको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *