चाँगुनारायण अस्पतालका मेसुसहित तीन चिकित्सकको राजीनामा

डिसी नेपाल
२३ वैशाख २०७८ २३:३३

भादगाउँ। भक्तपुरको चाँगुनारायण अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) सहित तीन चिकित्सकले बुधबार राजीनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालका मेसु डा रञ्जीतकुमार दाससहित डा सुलभ केसी र डा जिवेश बास्तोला राजीनामा दिएका हुन् । कोरोना भाइरस महामारीको दोस्रो लहर बढेसँगै नगरपालिकाले सो अस्पताललाई कोरोना विषेश अस्पतालमा रुपान्तरण गरेर सञ्चालन गर्ने तयारी गरेको थियो । अस्पतालले अक्सिजनसहित १० शैय्याको कोभिड अस्पताल शुरु गर्न तयारी गरिरहेको अवस्थामा चिकित्सकहरूको राजीनामा आएको हो ।

कोरोना महामारीका बेला चिकित्सकलाई राजीनामा नगर्न आग्रह गर्दा पनि तीनै जनाले राजीनामा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीले जानकारी दिए । चिकित्सकहरूले राजीनामा दिए पनि स्वीकृत भने भएको छैन । “डाक्टरहरूले राजीनामा दिएका छन् । हामीले उनीहरूलाई यो समयमा राजीनामा दिनु ठिक हैन भन्दै आएका छौँ । राजीनामा स्वीकृत पनि गरिएको छैन”, उनले भने।

मेसु दासले आत्मसम्मानको लागि राजीनामा दिएको बताए । उनले अस्पतालमा स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नभएकाले बाध्य भएर राजीनामा दिएको बताए। उनले भने, “अस्पतालमा स्वतन्त्रपुर्वक काम गर्ने वातावरण छैन । चौतर्फी दबाव आउँछ । निर्णय गर्ने कुनै अधिकार दिएको थिएन । त्यसैले राजीनामा दिएका हौँ ।” करारका चिकित्सक भन्दै अस्पतालका कर्मचारी र नगरपालिकाका जनप्रतिनिधिहरूले पेल्ने गरेको उनले गुनासो गरे।

नगरपालिकाले अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णयसँगै नगरपालिका र चिकित्सकबीच सेवा सुविधाको विषयमा मतभेद उत्पन्न भएको थियो । चिकित्सकले कोभिडको उपचारको क्रममा करारमा उल्लेख गरिएको भन्दा थप सेवा सुविधा हुनुपर्ने माग गरेका थिए । सो विषयमा पटकपटक छलफल हुँदा नगरपालिकाले नेपाल सरकारले तोकेको सेवा सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमा चिकित्सकले असहमति जनाउँदैँ त्यसभन्दा थप सेवा सुविधा माग गरेका थिए । चिकित्सकको मागका विषयमा बुधबार साँझसम्म नगरपालिकामा छलफल भएको थियो ।

स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दल भक्तपुरले नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । भक्तपुरको सल्लाघारीमा आयोजित संक्षिप्त कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र तरुण दलका अध्यक्ष राजु थापाले महासङ्घ अध्यक्ष जगत प्रजापतिलाई सो सामग्री हस्तान्तरण गरे।

सो अवसरमा सभापति थापाले कोरोना सङ्क्रमणको जोखिमबीच अहोरात्र कार्यस्थलमा खटेर काम गरिरहेका पत्रकारको स्वास्थ्यको सुरक्षामा सहयोग गर्नु सबैको दायित्व भएको बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *