माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद बम हमलामा घाइते

डिसी नेपाल
२४ वैशाख २०७८ ७:१३

बीबीसी। माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। सत्ताधारी माल्दिभियन डेमोक्र्याटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीवार उक्त विस्फोट भएको थियो।

माल्दिभ्सको प्रहरीले जारी गरेको एउटा वक्तव्यमा भनिएको छः मोहम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको छ। प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ।

उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ। तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ। उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ।

माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन्। सत्ताधारी पार्टीका एकजना सांसद अलि अजिमले बीबीसीसँग कुरा गर्दै त्यो मोहम्मद नाशिदलाई लक्षित गरेरै भएको आक्रमण हुनसक्ने बताएका छन्।

बीबीसीका अन्बरसन इथिराजन भन्छन्: मोहम्मद नाशिद माल्दिभ्समा एक प्रजातन्त्र समर्थक व्यक्तित्व मात्र होइन धार्मिक कट्टरपन्थीहरूविरुद्ध कडा रूपमा नहिचिकचाई बोल्ने आलोचक पनि हुन्। नाशिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित प्रथम राष्ट्रपति हुन्।

सन् २००८ मा भएको बहुदलिय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए। तर त्यसको चार वर्षपछि एउटा सैनिक विद्रोहबाट उनलाई सत्ताच्यूत गरिएको थियो।

त्रिपन्न वर्षका नाशिदको पद माल्दिभ्सको दोस्रो ठूलो शक्तिशाली पद हो। माल्दिभ्स सुन्नी मुस्लिमहरूको बाहुल्यता भएको देश हो र झण्डै १,१९२ वटा टापुको समूह रहेको उक्त देश भारतीय उपमहाद्वीपको दक्षिण-पश्चिममा अवस्थित छ। माल्दिभ्स त्यहाँको समुद्री तट र विलासी रिजोर्टहरूका लागि एक पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *