अण्डरवर्ल्ड डन छोटा राजनको मृत्युको खबरको खण्डन गर्दै एम्सले भन्यो –‘उनी जीवितै छन्’

डिसी नेपाल
२४ वैशाख २०७८ १७:४१

काठमाडौं। अण्डरवर्ल्ड डन छोटा राजनको मृत्यु भएको भन्ने खबरको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले खण्डन गरेको छ । एम्ले अहिले छोटा राजन जीवितै भएको भन्दै उनको कोरोना संक्रमणको उपचार भइरहेको बताएको एम्सलाई उद्धृत गर्दै भारतीय अखबार दैनिक भास्करले जनाएको छ । यसअघि केही मिडिया रिपोर्टमा छोटा राजनको शुक्रबार दिउँसो मृत्यु भएको भन्दै खबर बाहिरिएको थियो । त्यसपछि एम्सले स्थिति स्पष्ट गर्नुपरेको छ ।

तिहाडको उच्च सुरक्षायुक्त जेलमा रहेका डन छोटा राजन कोरोना संक्रमित भएपछि उनलाई एम्समा भर्ना गरिएको थियो । पहिले जेलकै अस्पतालमा उपचार गरिएकोमा स्थिति बिग्रिएपछि उनलाई एम्समा भर्ना गरिएको थियो । छोटा राजनलाई २०१५ मा इण्डोनेसियाको बालीबाट प्रत्यार्पण गरिएको थियो । उनी त्यतिबेलादेखि नै तिहाड जेलमा थिए । मुम्बइमा उनीविरुद्ध चलिरहेका सबै मुद्दा सीबीआइलाई स्थानान्तरण गरिएको छ । यी मुद्दाको सुनुवाइ विशेष अदालतमा चलिरहेको छ ।

छोटा राजनमाथि अपहरण र हत्यासँग सम्बन्धित करिब ७० मुद्दा चलिरहेका छन् । उनलाई पत्रकार ज्योतिर्मय डीको हत्याको अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइसकिएको छ । पछिल्लो हप्ता मुम्बइको विशेष अदालतले हनीफ कडावालाको हत्या अभियोगमा छोटा राजन र उनका एक सहयोगीलाई बरी गरेको थियो । उनी १९९३ मा भएको मुम्बइ सिरियल बम विष्फोटका आरोपी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *