एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान, पहिलो कार्यक्रम “हेल्लो डाक्टर” सुरु

डिसी नेपाल
२५ वैशाख २०७८ १५:५१

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को नयाँ भेरियण्टको सङ्क्रमणको महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको सुरुवात गरेको छ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासङ्घले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउँदै आएको यसको इतिहास छ। महाभूकम्पमा होस वा बाढी पहिरोको महाविपत्ति, महासङ्घले विगतमा पनि अग्र भागमा रहेर सहयोग गर्‍यो।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको सुरु भएको महासङ्घले जनाएको छ। एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियान अन्तरगत थप अन्य कार्यक्रमहरू समेत ल्याउने तयारीमा महासङ्घ छ।

हेल्लो डाक्टर कार्यक्रम महासङ्घद्वारा सञ्चालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन्।

हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिने कार्य भोलि वैशाख २६ गते आइतबारबाट सुरु हुने छ। कोभिड सङ्क्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टर मार्फत भरपुर सहयोग लिन सक्नेछन्। हेल्लो डाक्टर, भाइवर मार्फत कोभिड सङ्क्रमित बिरामी र डक्टर बीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने छ।

प्रारम्भमा ५ जना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिने छ। त्यसका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्ट्याइएको छ। नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइवर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ।

तत्पश्चात् डाक्टरहरूले भिडियो कल मार्फत बिरामीहरूसँग संवाद गरी स्वास्थ्य परामर्श दिने छन्। म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ। यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै सङ्क्रमितहरूले यो सेवा लिन सक्ने छन्।

रोग सङ्क्रमितहरूलाई प्रविधिको प्रयोग मार्फत डाक्टरहरूसँग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपत्कालीन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्य अनुरूप यो कार्यक्रमको थालनी गरिएको हो। यसबाट कोभिड सङ्क्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासङ्घको छ।

हेल्लो डाक्टर मार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड सङ्क्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दाबी महासङ्घका अध्यक्ष शेखर गोल्छाको छ।

महासङ्घले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढी भन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन्। आम सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासङ्घले अग्र भागमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत अध्यक्ष गोल्छाले जनाएका छन्।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ। महामारीको बढ्दो सङ्क्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यति बेला सबैको परम कर्तव्य भएकाले आआफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासङ्घले सबैमा आग्रह समेत गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *