ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा व्यावसायिक रूपमा सञ्चालन गरिएको ड्रागन फ्रुट फार्ममा लटरम्म फलेको, पाकेको र फल्ने तयारीमा फुलेका ड्रागन फ्रुट । ड्रागन फ्रुट जेठदेखि फल्न सुरु गर्ने र असोजसम्म फलिरहने किसान बताउँछन् । तस्बिरःः कुलदीप न्यौपाने/रासस
चितवन। चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी फल) मा ढुसीजन्य रोगको सङ्क्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ।
जिल्लाका अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका बागबानी विकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लामा २४ हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेतीमध्ये धेरैजसोमा ढुसीजन्य रोगको सङ्क्रमण देखिएको छ।
उनले कोलेटोट्रिचम नामक ढुसीका कारण फलमा कोत्रे रोग लाग्ने जानकारी दिनुभयो। उक्त रोगका कारण फल पहेँलिने, दानामा खैरा थोप्ला देखिने, फल कालो हुँदै चाउरिने तथा अन्ततः फुट्ने समस्या देखापर्छ।
“बिरुवामा सुरुमा सङ्क्रमण भएपछि मात्रै फलमा रोग देखिन्छ। बिरुवाको डाँठमा पहिल्यै थोप्ला देखिन थाल्छ”, उनले भने। उनका अनुसार सङ्क्रमित फल बजारमा बिक्रीयोग्य नहुने भएकाले किसानले आर्थिक क्षति बेहोर्नुपरेको छ।
रोगको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उनको भनाइ छ। बिरुवामा रोगको लक्षण देखिनेबित्तिकै प्रतिलिटर पानीमा दुई ग्राम कपर अक्सिक्लोराइड मिसाएर छर्कन उपयुक्त हुने उनले बताए। बिरुवा रोप्दा चोटपटक नलागेका, स्वस्थ र रोगमुक्त बिरुवा मात्र छनोट गर्नुपर्नेमा पनि उनले जोड दिए।
चितवनमा हाल २४ हेक्टर क्षेत्रफलमा ड्रागन फलखेती हुँदै आएको छ भने वार्षिक करिब २८८ मेट्रिकटन उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।






डिसी नेपाल





Facebook Comment