सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डिसी नेपाल
१० कार्तिक २०८३ १५:०५

काठमाडौं। सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजारको ठेक्का, राजस्व असुली र छुटसम्बन्धी निर्णयमा अनियमितता भएको पाइएको छ।

आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, दिनेश कुमार सहनी, वीरन्द्रकुमार यादव, श्रीधर केसी, अनन्तकुमार पौड्याल र अन्य सम्बन्धित पदाधिकारीलाई प्रतिवादी बनाएको छ। उनीहरूमाथि ठेक्का तथा राजस्व सङ्कलन प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिवादीहरूबाट कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ। तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित केही प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार थप सजायको मागसमेत गरिएको छ।

आयोगका अनुसार पशु हाटबजारको ठेक्का र राजस्व सङ्कलनसम्बन्धी निर्णय गर्दा कानुनी प्रक्रियाविपरीत छुट दिइएको तथा ठेकेदारबाट असुल गर्नुपर्ने रकम असुल नगरी नगरपालिकालाई आर्थिक हानि पुर्‍याइएको आरोप छ। उक्त प्रकरणमा प्रतिवादीहरूको संलग्नता र बिगो निर्धारणका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *