‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ सर्दै : बिहीबारदेखि मौसममा आंशिक प्रभाव पर्ने
काठमाडौं। बंगालको खाडीमा विकसित अति शक्तिशाली ‘अर्णब’ चक्रवातको प्रभाव आगामी बिहीबारदेखि नेपालमा पर्ने देखिएको छ। वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार आज र भोलि देशको मौसम सामान्यतया सफा रहने भए पनि बिहीबारदेखि शनिबारसम्म यस चक्रवातको प्रभाव देखिने सम्भावना रहेको छ।
हाल बङ्गालको खाडीमा शक्तिशाली चक्रवाती आँधीको रूपमा रहेको ‘अर्णब’ भोलिसम्म भारतको विशाखापट्टनम आसपास जमिनमा (ल्यान्डफल) प्रवेश गर्ने पूर्वानुमान गरिएको छ। जमिनमा प्रवेश गरेसँगै पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्ने क्रममा यो प्रणाली क्रमशः कमजोर हुँदै जानेछ।
यद्यपि, चक्रवातको सम्भावित मार्ग नेपाल आसपाससमेत देखिएकाले नेपाल भित्रिँदा यो न्यून चापीय क्षेत्र वा कमजोर चक्रवाती प्रणालीका रूपमा परिणत भई असर पार्न सक्ने मौसमविद् पोखरेलले स्पष्ट पारेकी छिन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले बिहीबार, शुक्रबार र शनिबारका लागि विशेष चेतावनी जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
चक्रवातको प्रभावका कारण देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी उच्च हिमाली भूभागमा भारी हिमपात, हिमपहिरो र हिमआँधीको उच्च जोखिम रहेकाले त्यस क्षेत्रका बासिन्दा, पदयात्री तथा पर्यटकहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
यसपटक धान काट्ने समय भएकाले मध्यम वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्ने औंल्याइएको छ। त्यसैले सम्भावित क्षतिबाट बच्न किसानहरूलाई बिहीबारअघि नै पाकेको धान काटेर सुरक्षित स्थानमा भित्र्याउन मौसमविद्हरूले विशेष सुझाव दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment