छोरीलाई दुध खुवाउँदै गर्दा आमाको मृत्यु, आमाको लाशले थिचिँदा निसास्सिएर छोरीको पनि मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७८ १७:४९

काठमाडौं। आमाको दूध खाइरहेकी एक बालिकाको आमाशो मृत शरीरले थिचिँदा निसास्सिएर मृत्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दूध खुवाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृत्यु भयो । आमाको मृत्यु भएपछि आमाको निर्जीव शरीर लड्दा नवजात बालिका आमाको शरीरले थिचिइन् र उनको निसास्सिएर मृत्यु भयो । डेलीमेलका अनुसार यो दुखद घटना अर्जेन्टिनामा भएको हो ।

घरमा यो दुखद घटना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए । महिला ती नवजात छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी पत्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पितालाई आमा सुतिरहेको जवाफ दिएका थिए ।

यो दुःखलाग्दो घटना उत्तरी अर्जेन्टिनाको कोरिएन्तेस सहरमा भएको हो । घटनाका बेला ३० वर्षीया महिला मारियाना ओजेदा आफ्ना २ सन्तानसँग घरमा थिइन् । उनीहरुकी जेठी छोरी हजुरआमाको घरमा गएकी थिइन् । महिलाका श्रीमान ग्याब्रिएल काममा गएका थिए । सबैभन्दा पहिले आजेडालाई उनीहरुकी जेठी छोरीले फोन गरेकी थिइन् तर फोन नउठेपछि परिवारका सदस्यले उनलाई पटक पटक फोन गरेका थिए तर कुनै जवाफ आएन ।

ग्याब्रिएलले पटक पटक आफ्नी पत्नीलाई फोन गरिरहेका थिए र संयोगले उनका ३ वर्षका छोराले फोन उठाए । ती बालकले आफ्ना पितालाई भने ‘आमा अझै सुतिरहनुभएको छ ।’ अर्जेन्टिनाको समाचार साइट टेलिसिंकोका अनुसार ग्याब्रियललाई घरमा केही गडबडी भएको शंका लागेपछि उनी तत्काल घर गएका थिए तर घरमा उनकी पत्नी र २ महिनाकी छोरी मृत अवस्थामा थिए ।

आमाछोरीको मृत्युको विषयमा अनुसन्धानका लागि अटोप्सी जाँच गरिँदैछ । प्रारम्भिक जाँचमा महिलामाथि कुनै किसिमको हिंसा भएको संकेत देखिएको छैन । महिला पहिलेदेखि नै गम्भीर हाइपरटेन्सनबाट पीडित थिइन् । उनलाई अचानक स्ट्रोक भएर उनको मृत्यु भएको अनुमान गरिएको छ । उच्च रक्तचापको रुपमा पनि चिनिने हाइपरटेन्सनले अचानक स्ट्रोक र हृदयाघात निम्त्याउने हुँदा यसलाई निकै घातक मानिन्छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *