जुम्रा सारिदिएर ४ वर्षकी छोरीलाई मृत्युको मुखमा पुर्‍याएको आरोपमा आमा पक्राउ – Dcnepal

जुम्रा सारिदिएर ४ वर्षकी छोरीलाई मृत्युको मुखमा पुर्‍याएको आरोपमा आमा पक्राउ

काठमाडौं। आफ्नी ४ वर्षकी छोरीलाई जुम्रा सारिदिएर उनलाई मृत्युको मुखमा पुर्याएको आरोपमा २६ वर्षकी आमा पक्राउ परेकी छिन् । अमेरिकाको इण्डियानामा बस्ने यी आमाबाट बच्चलिाई जुम्रा सरेको र जुम्राबाट भएको संक्रमणका कारण बालिका मृत्युको मुखमै पुगेको खुलासापछि ती आमालाई पक्राउ गरिएको हो । बालिकालाई जुमबाट संक्रमण भएपछि उनको अवस्था निकै गम्भीर भएको थियो र उनलाई निकै मुस्किलले बचाउन सकिएको थियो ।

ती बालिकालाई जुम्राबाट संक्रमण भएपछि उनको शरीरमा अक्सिजनको स्तर अत्यन्तै न्यून भएको थियो । गत महिना इण्डियानाको स्कटबर्गको अस्पतालमा भर्ना गरिएकी बालिकाको अवस्था देखेपछि डाक्टरले पुलिसलाई खबर गरेका थिए । त्यसपछि २६ वर्षीया आमा शायने निकोल सिंहलाई यही हप्ताको सुरुवातमा पक्राउ गरिएको हो । द लेक्सिंगटन हेराल्डका अनुसार बालिका हिँडडुल गर्न असमर्थ भइसकेकी थिइन् र जुम्राले उनको शरीरबाट हेमोग्लोबिन चुसेर उनको शरीरमा अक्सिजनको स्तर निकै खतरनाक स्तरमा झारिदिएका थिए ।

बालिकाकी आमामाथि आफूमा निर्भर व्यक्तिको स्वास्थ्यप्रति गम्भीर लापरवाही गरेर मृत्युसमेत हुन सक्ने जोखिममा पुर्याएको अभियोगमा मुद्दा चलाइएको छ । अदालतमा दर्ता गरिएको अभियोग पत्रमा उल्लेख भएअनुसार अस्पतालका कर्मचारीले बालिका भर्ना भएपछि उनको हेमोग्लोबिनन स्तर नापेका थिए । हेमोग्लोबिन एक प्रकारको प्रोटिन हो जसले शरीरका अंगहरुमा अक्सिजन लैजाने र कार्बन डाइअक्साइड बाहिर निकाल्ने काम गर्छ ।

हेराल्डको रिपोर्टअनुसार सामान्य अवस्थामा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रति डेसिलिटर हुन्छ । तर यी बालिकाको हेमोग्लोबिन स्तर केवल १.७ ग्राम प्रति डेसिलिटर थियो । डाक्टरहरुले यी बालिकाको जति कम हेमोग्लोबिनको स्तर यसअघि कुनै पनि बिरामीमा नदेखेको बताएका छन् ।

यी बालिकाकी ६ वर्षकी दिदी पनि जुम्राबाट गम्भीर संक्रमित भएकी पाइएको छ । उनको हेमोग्लोबिनको स्तर पनि धेरै कम भइसकेको भए पनि बहिनीको जत्तिको खतरनाक स्तरमा भने नपुगेको डाक्टरले बताएका छन् । दुवै बालिकालाई आमाको संरक्षणबाट हटाएर उनीहरुकी हजुरआमाको संरक्षकत्वमा राखिएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो