अमेरिकाको सीडीसीले कोरोनाभाइरस हावाबाट सर्ने कुरालाई मान्यता दियो

डिसी नेपाल
२६ वैशाख २०७८ १३:२२

काठमाडौं। कोभिड–१९ महामारी फैलाइरहेको भाइरस सार्स सीओभी २ हावाबाट सर्ने कुरालाई अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले मान्यता दिएको छ । सीडीसीले मानिसले सास फेर्ने क्रममा मुख तथा नाकबाट बाहिर निस्किने ‘एरोसोलाइज्ड पार्टिकल’बाट यो भाइरस सर्न सक्ने स्वीकार गरेको छ । सीडीसीले शुक्रबार आफ्नो सार्वजनिक गाइडलाइन अद्यावधिक गरेको छ जसमा सार्स सीओभी २ श्वास प्रश्वासको क्रममा निस्किने द्रवबाट सर्न सक्ने उल्लेख गरिएको छ ।

अमेरिकाको औषधि नियामक निकाय सीडीसीले मानिस बोल्ने क्रममा श्वास्प्रश्वास द्रव निस्किने र यो द्रव नजिकको सतहमा वा हावामै पनि केही समय सुरक्षित रहन सक्ने बताएको छ । यसरी निस्किएका केही ठूला ढिक्काहरु हावामा केही मिनेटदेखि केही घण्टासम्म समेत रहन सक्ने र त्यसमा भाइरस रहन सक्ने जुन पछि अर्को मानिसमा सर्न सक्ने सीडीसीले स्वीकार गरेको छ । यद्यपि एजेन्सीले कम्तीमा ६ फिट दूरीमा रहेको संक्रमणको स्रोतबाट भने यसरी संक्रमण सर्न सक्ने सम्भावना अत्यन्तै न्यून भएको बताएको छ ।

सीडीसीका अनुसार बन्द कोठाभित्र रहेको वा नजिक रहेको संक्रमणको स्रोतबाट भने संक्रमण सर्न सक्ने बताएको छ । एजेन्सीका अनुसार बन्द कोठाभित्र यसरी संक्रमणको स्रोतबाट बाहिर निस्किएको द्रव १५ मिनेटदेखि १ घण्टासम्म संक्रामक हुने बताएको छ । द ल्यान्सेट जर्नलमा सार्स सीओभी २ भाइरस हावाबाट सर्न सक्ने निष्कर्षसहितको शोधपत्र प्रकाशित भएको एक महिनापछि सीडीसीले पनि यो निष्कर्षलाई मान्यता दिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *