मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव, विशेष अधिवेशन माग

डिसी नेपाल
२६ वैशाख २०७८ १६:५३

काठमाडौं। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षीहरुले अविश्वासको प्रस्तव दर्ता गराएका छन्। यसअघि पनि उनीविरुद्ध अविश्वासको प्रस्ताव आएको थियो। तर, अविश्वासको प्रस्तावमा छलफल हुनुअघि नाटकीय रुपमा राजीनामा दिएर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनी अल्पमतमा रहेको भन्दै विपक्षीहरुले विरोध जनाउँदै आएका थिए।

विपक्षीहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेश प्रमुख धर्मनाथ साह समक्ष प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै निवेदनसमेत दिएका छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा हाल ७९ सदस्यीय कायम छ। माओवादीका २ र जसपाका ४ जनालाई पदमुक्त गरिएको छ भने एमालेका दुईजना सांसदले राजीनामा दिएका छन्। जसले गर्दा ८ पद रिक्त भएपछि प्रदेशसभा ७९ सदस्यीय भएको हो।

हाल विपक्षीको गठबन्धनमा ४० सांसद छन् भने एमालेका ३७ सांसद छन्। अल्पमतमा रहे पनि मुख्यमन्त्री बनेका पोखरेलमाथि फेरि संकट आएको हो। उनले विवादका बीच दोस्रो कार्यकालका लागि मुख्यमन्त्रीको सपथ लिएका थिए। प्रदेश प्रमुख धर्मनाथ साह मुख्यमन्त्रीको कार्यकक्षमै सपथ ग्रहण गराउन पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *