प्रतिनिधिसभाको दोस्रो बैठक : प्रधानमन्त्रीद्वारा विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत
काठमाडाैं। प्रतिनिधसभाको दोस्रो बैठक शुरु भएको छ। १५ मिनेटका लागि स्थगित भएको बैठक शुरु भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्ताव पेस गरेका छन्।
संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतको लागि पेश प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।
आजको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल गठन गरेर १५ मिनेट बैठक स्थगित गरे।
त्यसपछि पुनः सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्। अहिले प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गरिरहेका छन्।
त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन्। सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन्।
मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकाहरुलाई मुख्य सभाकक्ष र पोजिटिभ संक्रमणलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको छ। हाल कोरोना संक्रमणबाट २८ सांसद प्रभावित भएको बताइएको छ।
नेपाल समूह अनुपस्थित
सत्ताको नेतृत्व गरिरहेको नेकपा(एमाले)भित्रको आन्तरिक मतान्तर तथा अरु दलभित्र पनि विवाद भएका बेला संसद्को यो अधिवेशन राखिएको छ। एमालेको माधवकुमार नेपालले नेतृत्व गरेको समूहले भने अधिवेशनमा उपस्थित नहुने जनाइसकेको छ।
संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छ। दल त्यागसम्बन्धी व्यवस्था नुसार नेकपा (माओवादी केन्द्र)ले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ।
सांसद विजयकुमार गच्छदार, मोहम्मदआफताव आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन।
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ। मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिनेछन्। अधिवेशनमा २६६ सांसदले मतजाहेर गर्ने छन्।
प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतमा एमालेका १२१, नेकपा (माओवादी केन्द्र)का ४८, नेपाली कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकएक तथा स्वतन्त्र एक सांसदलाई मताधिकार छ।
सुरक्षा मापदण्ड
कोभिड–१९ संक्रमणलाई हेक्का गर्दै अधिवेशनमा सांसद्का लागि सिट व्यवस्थापन गरेको छ । विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्ने व्यवस्था मिलाएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र नेपाल चिकित्सक संघका पदाधिकारीसगँको परामर्श र सुझावका आधारमा सिट व्यवस्थापन गरिएको छ।
बैठक कक्ष प्रवेश गर्नुअघि सांसदका लागि पिसिआर परीक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। मास्क र सेनिटाइजरको प्रयोग कडाइका साथ पालन गराइएको छ।
कोभिड–१९ संक्रमणले दैनिक नयाँ अभिलेख कायम गरिरहेका बेला हुन लागेको अधिवेशनबाट नेपालको राजनीति पनि नयाँ चरणमा प्रवेश गर्ने अनुमान गरिएको छ।
Facebook Comment