पहिला तटस्थमा भोट, त्यसपछि विपक्षमा अनि महन्थसँग माफी

डिसी नेपाल
२८ वैशाख २०७८ ११:०१

काठमाडौं। सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो। संसदमा प्रधानमन्त्रीसहित शीर्ष नेताले आफ्नो धारणा राखिसकेपछि मतदान प्रक्रिया सुरु भयो। त्यहाँ तीन किसिमको व्यवस्था गरिएको थियो। एउटा हुन्छ, अर्को हुन्न र तटस्थ।

मतदान प्रक्रिया सुरु भएसँगै दलको निर्णय अनुसार सांसदहरु मतदान प्रक्रियामा सहभागी भए। नेपाली कांग्रेस र माओवादी केन्द्रले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए भने नेकपा एमालेले पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। ती दलका सांसदहरुले पार्टीको निर्देशन अनुसार नै मतदान गरे।

तर पक्ष र विपक्षमा मतदान गर्न ह्वीप जारी नगरेको जनता समाजवादी पार्टीका सांसदले भने केहीले विपक्षमा मतदान गरे भने केही सांसद तटस्थ बसे।

जसपामा सरकारलाई विश्वासको मत दिने नदिने विषयमा विवाद बढ्दै जाँदा मध्यमार्गी उपाय अपनाइएको थियो। जसपाले आफ्ना सांसदलाई पक्ष वा विपक्ष वा तथस्ट बस्न पाउने निर्णय गरेको थियो।

जसपाका कुल ३० जना सांसदमध्ये १५ जना तटस्थ बसे भने बाँकी १५ जनाले विपक्षमा मतदान गरे। ती मध्ये एक जना सांसदले भने पहिला तटस्थमा मतदान गरेका थिए। पछि सभामुखले आफ्नो मत सच्याउन चाहने सांसदलाई भन्दै १५ मिनेटको समय छुट्टाएका थिए। सो समयमा फेरि ती सांसदले मत सच्याउँदै विपक्षमा मतदान गरे।

जसपा सांसद चन्द्रकान्त चौधरीले सुरुमा तटस्थमा मतदान गरेका थिए। तर उनले पनि आफ्ने सच्याउँदै विश्वासको मतको विपक्षमा मतदान गरे। सुरुमा तटस्थमा मतदान गरेका चौधरीलाई पछि उपेन्द्र यादव पक्षधर सांसदले विपक्षमा मतदान गर्न दबाव दिएपछि उनले विपक्षमा मतदान गरेको स्रोतले दाबी गर्यो।

विपक्षमा मतदान गरेलगत्तै उनले अध्यक्ष महन्थ ठाकुरलाई भेटी आफूले विपक्षमा मतदान गरेर गल्ती गरेको भन्दै माफी मागेका थिए। जवाफमा ठाकुरले अहिले पक्ष विपक्षमा मतदान गर्दा केही फरक नपर्ने भन्दै ‘तपाइँले गल्ती महसुस गर्नु भयो, ठिकै छ’ भन्ने जवाफ दिएको स्रोतको दाबी गरे।

तर चौधरीले भने आफूलाई जानकारी नभएर सुरुमा तटस्थमा मतदान गरेको र थाहा पाएपछि विपक्षमा मतदान गरेको दाबी गरे। ‘मैले तटस्थमा मतदान गरेँ भन्ने पत्तै भएन,’ चौधरीले डिसी नेपालसँग भने, ‘जब मैले विपक्षमा मतदान गर्ने व्यवस्था रहेको थाहा पाएँ, तब मैले मत सच्याएको हुँ।’  उनले आफूलाई कसैले दबाव दिएर विपक्षमा मतदान गरेको भन्ने कुरामा सत्यता नरहेको पनि बताए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *