के देउवाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बन्न देलान् ?

डिसी नेपाल
३० वैशाख २०७८ ०:५९

काठमडौं। प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताच्युत गर्न अहोरात्र मिहिनेत गरिरहेका जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले आफ्नै दलका अर्का नेता महन्थ ठाकुरलाई प्रधानमन्त्रीको उम्मेद्वार बन्न प्रस्ताव गरेका छन्।

आफ्नै निवासमा बुधवार बोलाएर डा.भट्टराईले ठाकुरसमक्ष यस्तो प्रस्ताव गरेका थिए। सत्ताको बर्तमान खेलमा ओलीलाई समर्थन गर्ने र नगर्ने दुई पक्षमा जसपा आधा आधा भएर विभाजित छ।

संसदमा जम्मा ३२ सिटमात्र भएको जसपाबाट प्रधानमन्त्री प्रस्ताव गर्दा माओवादीका तर्फबाट समर्थन लिने जिम्मेवारी पनि भट्टराईले नै लिएका छन्। तर, माओवादीको ४९ भोटले ठाकुर नेतृत्वको सरकार बन्न सक्दैन। उनलाई नेपाली कांग्रेसको पनि समर्थन चाहिन्छ। कांग्रेसँंग ६१ भोट छ।

ठाकुर पनि प्रधानमन्त्रीका उम्मेद्वार हुन्, उनी आफ्नै नेतृत्वको सरकार बनाउन प्रयासरत छन्, उनको ओलीलाई समर्थन छैन भन्ने सन्देश दिएर हाल ओलीलाई समर्थन गर्नुपर्छ भन्ने पक्षमा भएका आफूपक्षीय सांसदलाई भड्काउने उद्देश्यलेमात्र यस्तो प्रस्ताव आएको बुझाइ ठाकुर पक्षको छ। उनीपक्षीय एक नेताले डिसी नेपालसंग भने, ‘ठाकुरजी बिरुद्धको षड्यन्त्र होइन भने नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीमा ठाकुरजीलाई प्रस्ताव गरुन्।’

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा बैकल्पिक सरकारको प्रस्ताव गर्ने निर्णय गरिसकेको छ। त्यसमाथि पनि देउवाले पटक पटक आफूले गत चुनावमा पर्याप्त सिट नपाएकोले प्रतिपक्षमै बस्ने भन्दै आएको अवस्था छ। सके आफूनै नेतृत्वमा सरकार बनाउने नसके प्रतिपक्षमै बस्ने देउवाको नीतिमा कहीं कतै पनि मधेशी दलका नेता वा माओवादीलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने कुरा नै छैन। त्यसमा पनि मुलुक कोरोना संकटको महामारीमा छ, जो सत्तामा गए पनि जनताले घृणा गर्ने अवस्था छ।

यस्तो बेला आफूलाई प्रधानमन्त्री बनाएर कांग्रेस मन्त्रीमात्र लिएर सरकारमा जान्छ भन्ने विश्वासिलो आधार छैन। यिनै कुरा विश्लेषण गर्दै ठाकुरले भट्टराईलाई त्यत्तिकै प्रधानमन्त्रीको प्रस्ताव ल्याएर हल्ला नचलाउन र सक्ने भए देउवाबाट प्रस्ताव गराउन सुझाव दिएका हुन्।

तपाईंँ प्रयास गर्नुहोस्, देउवाबाट प्रस्ताव आए सोच्न सकिन्छ नत्र हल्लामात्र चलाउनु उपयुक्त हुन्न भन्ने प्रतिक्रिया दिएर भट्टराई निवासबाट ठाकुर निस्किएका थिए। नेता भट्टराईले ओलीलाई विदा गरेर नयां सरकार बनाउनेबारे आज पार्टीले एउटै धारणा बनाउने जानकारी मिडियालाई गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *