अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको संख्या चार लाख ७३ हजार

डिसी नेपाल
३१ वैशाख २०७८ १३:३७

वासिङ्टन। संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको संख्या निरन्तर ओरालो लागेको छ। कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ। पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ।

श्रम तथ्याँक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेहरुको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ। अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन्।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यसबखत कूल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए।

यसैबीच, राज्य र संघीय दुबैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कूल संख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ।

रिपब्लीकन शासित धेरैवटा राज्यले संघीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदैछ। संघीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ।

गभर्नरहरुको भनाईमा संघीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरुले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरहरुका तर्कको खण्डन गरेका छन्। हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरु काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *