इजरायल–प्यालेस्टाइन द्वन्द्व : आफ्नै टाउको माथि गोला बारूद पड्किँदा कसलाई डर लाग्दैन र? 

रिता बस्नेत
१ जेठ २०७८ १४:१५

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच यही मे १० देखि हवाई आक्रमण चलिराखेको छ। दुबै मुलुक बीच टकराव बढ्दै जाँदा इजरायलले गाजास्थित सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ।  प्यालेस्टिनी विद्रोही संगठन हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ आक्रमण भइराखेको छ।

त्यहाँको वेस्ट बैंक, गाजापट्टी र गोलन हाइट्सजस्ता क्षेत्रमा विवाद छ। प्यालेस्टाइनले यी समेत पूर्वी जेरुसेलमसम्म आफ्नो दाबी गर्छ। उता इजरायलले पनि आफ्नो दाबी गर्दै आएको छ।

यतिबेला जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा दिनकै सयौं रकेट आक्रमण भइरहेको छ। यस्तो बेलामा इजरायलमा रहेका नेपालीहरुलाई सुरक्षा अपनाउन इजरायलस्थित नेपाली दूतावासले सूचनामार्फत अनुरोधसमेत गरेको छ।

इजरायलस्थित नेपाल दूतावासका सहचारी प्रदिप सागर गिरी भन्छन्,  ‘इजरायलमा नेपालीहरु डकुमेन्टेड अनडकुमेन्टे गरी करिब २५ सयदेखि तीन हजारसम्मको संख्यामा हुनुहुन्थ्यो। अहिले घटेर दुई हजारको संख्यामा हुनुहुन्छ। यसमा धेरैजसो पुराना १० वर्ष पहिलेदेखि बसेको हुनुहुन्छ। उहाँहरु सन २००७–२००८ देखि नै बसिराखेको र त्यो बेलादेखि नै भोगिराखेको भएर यस्तो बेला के गर्नुपर्छ, कस्तो हुन्छ, यहाँको सुरक्षाको अवस्था कस्तो छ भन्ने कुरामा भुक्तभोगी हुनुहुन्छ। त्यसकारण यहाँ नेपालीहरु त्यतिसाह्रो आत्तिएको स्थिति छैन।’

सुरुसुरुमा नेपाली युवाहरु इजरायल म्यानपावरमार्फत जाने गर्थे। पछि सरकारी संयन्त्र अर्थात् जीटुजी मार्फत जान थालेका छन्। जसले गर्दा इजरायल जाने संख्या नभएको र फर्किने संख्या बढ्दै गएकाले अहिले त्यहाँ नेपालीहरुको संख्या घटेर दुई हजारको हाराहारीमा रहेको गिरीले बताए।

उनले भने, ‘स्टुडेण्ड भिसामा यहाँ आउनु हुने केयर गिभरमा हुनुहुन्छ। अन्य १५–२० जना विद्यार्थी उच्च शिक्षा गरिराख्नु भएको छ। त्यो बाहेक करिब पाँच सय जना विद्यार्थी हुनुहुन्छ, उहाँहरू साना किसान बैंकमार्फत कृषिका लागि ‘लर्न एण्ड अर्न’(सिकाइ र कमाइ) कार्यक्रमअन्तर्गत ११ महिनाको तालिमको लागि आउनु हुन्छ। उहाँहरुलाई पनि जोड्ने हो भने नेपालीको संख्या दुई हजार मात्र नभएर अलिकित बढी हुन्छ।’

उनका अनुसार पछिल्लो समयमा नेपालीहरुको अलि बढी संख्या जेरुसेलममा रहेको छ। उनले भने,  ‘तर अहिले धेरैजसो मान्छेहरुको बसाई तेल अबिबलगायत नजिकको क्षेत्रहरुमा छन्। जुन बोर्डर एरिया हो, त्यहाँ यस्तो घटना पहिले पनि भइराख्थ्यो, छिटपुट घटनाहरु आइरहन्थे।’

सहचारी गिरीले सन् २०१४ भन्दा पछाडि अहिले भइरहेको आक्रमण भने धेरै ठूलो आक्रमण भएको बताए। उनले भने, ‘२०१४ पछाडि यति ठूलो चाहीँ पहिलो चोटी भयो भनेर यहाँ सबै आश्चर्य मानिरहेका छन्।’

इजरायल र प्लोलेस्टिनी लडाकुबीच हिंसा चर्किएपछि हमास र अन्य लडाकु समुहले इजरायलको भूमितर्फ १५ सयभन्दा बढी रकेट बम प्रहार गरिसकेको छ। जसले गर्दा दुबै पक्ष मानवीय क्षती नभएको भने होइन। तरपनि इजरायलको ‘आइरन डोम’ नामक प्रतिरक्षा प्रणालीले प्राय रकेट बमलाई आकाशमै ध्वस्त पारिदिदैँ आएको छ। जसले गर्दा इजरेली सहर र त्यहाँको मानव जिवनलाई बचाइराखेको छ।

सहचारी गिरी भन्छन्, ‘आइरन डोम छ, छेक्छ भन्ने थाहा हुँदाहुँदै पनि ह्युमन नेचर हो डर त लागिहाल्छ । आफ्नै टाउको माथितिर गोला पड्किदा कसलाई डर लाग्दैन र?’

धेरैजसो नेपाली पहिल्यै देखि इजरायलमा रहदै आएका र अनुभवी भएकाले आक्रमण हुँदा के गर्ने, कस्ता सुरक्षा वा सजगता अपनाउने भन्नेमा पूर्ण ज्ञान भएकाले अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको उनले बताए। उनका अनुसार आक्रमणको बेलामा सुरक्षित बस्नको लागि इजरायलका प्राय घर छेउमा बङ्कर बनाइएका छन्।

सिमानामा कत्तिको असर परेको छ भन्ने प्रश्नमा उनले भने,  ‘सिमाना क्षेत्र मात्र नभएर लडाकुहरुले रकेट, मिसाइलहरु कति क्षेत्रमा पार्न सक्छन् भन्ने कुरा खास हो। कियर गिभरको क्षेत्रमा आएका नेपालीहरु सिमाना एरियामा कम हुनुहुन्छ। लर्न एण्ड अर्न प्रोजेक्टमा आउनु हुनेहरु इजरायलका पाँच वटा एग्रीकल्चर सेन्टरहरुको लागि आउनु हुन्छ। ती पाँच मध्ये दुई वटा सेन्टरहरु चाहीँ लडाकुको अलि निकटका सहरहरु हुन्। त्यहाँ चाहीँ हाम्रो दुई सयजना विद्यार्थीहरु हुनुहुन्छ होला।’

इजरायलको सरह र मान्छेलाई दुर्घटना हुनबाट बचाइराखेको आइरन डोमबारे गिरी भन्छन्,  ‘९० प्रतिशत रकेट या मिसाइल आएको आइरन डोमले पहिल्यै थाहा पाउँछ। त्यो भएर आइरन डोमले त्यसलाई आकाशमै ध्वस्त गरिदिन्छ। करिब ९० प्रतिशत रकेटहरु भुईँमा आउन पाउँदैछ।  र, कुनैकुनै रकेट आउनसक्ने स्थिति रह्यो भने पनि १०–२० सेकेन्ड अगाडिनै थाहा पाएर सम्बन्धित एरियाहरुमा साइरन बज्छ। साइरन बजिसकेपछि मान्छेहरु नजिकको सेल्टर खोजेर लुक्ने गर्छन्।’

उनका अनुसार हाल इजरायलमा नेपालीलगायत अन्य कर्मचारीहरुलाई काम गर्न बन्द गरेर सुरक्षित बस्न भनिएको छ। साथै, दूतावासले इजरायलमा रहेका नेपालीलाई अप्ठ्यारो परेको बेलामा सक्दो सहयोग गरेको छ र समस्या परेको खण्डमा दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

त्यहाँ रहेका नेपालीलाई दूतावासले साइरन बज्नासाथ घरभित्र भए बङ्कर, भर्याङ्ग वा त्यस्तै सुरक्षित क्षेत्रमा जान, झ्याल नजिक नजान, यदि घरबाहिर (बजार, सडक, फार्म वा अन्यत्र) भएका नजिकैको बङ्करमा पुगिहाल्न र त्यो उपलब्ध नभएमा जहाँ हुनुहुन्छ त्यहि टाउको निहुरियाएर वा बचाएर बस्नुहुनु सुसूचित गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *