सडकमा देखिएका एक्ला समाजसेवी रिमाल

फुर्पा शेर्पा
९ जेठ २०७८ १२:३२

काठमाडौं। कोरोना माहामारीपछिको लकडाउनले धेरैको गाँस खोसियो, मानिस बेरोजगार बने। कोरोना नियन्त्रणका लागि देशमा निषेधाज्ञा भएपछि व्यापार र व्यवसायहरू ठप्प भए।

हुनत आफू कसरी बाँच्ने भन्ने ध्याउन्न मात्रै थियो सबैलाई। बाहिर निस्किएपछि कोरोना सर्छ भन्ने त्रासले अधिकांस मानिसहरु घरमै बस्न बध्य छन्।कोरोना माहामारी र निषाधज्ञाले मानिस मात्रै नभएर, यतिबेला पशुपंक्षी पनि ‘अछुतो’ रहेनन्। मानिसलाई आएको यो विपदले जनावरलाई पनि दुःख भएको छ।

हुन त कतिपय समाजसेवीहरु काठमाडौ उपत्यकाभित्रका पशुपंक्षी, जनावर र विपन्न परिवारहरुलाई खाना ख्वाउनमै व्यस्त हुन्छन्। जसले गर्दा अरुको गरेको सेवाबाट उनीहरुलाई बाच्ने आधार भएको छ।

हुन त पछिल्लो समय यो विपत्तको बेलामा विभिन्न ठाउँका जनावर, पशुपक्षी र गरिब दुःखीलाई सेवा गर्ने समाजसेवी पनि त्यत्तिकै मात्रामा भेटिन्छन्। र, भेटिए पनि एकजना समाजसेवी सौरभ रिमाल।

करिब डेढ वर्षदेखि समाजसेवामा लागेका रिमाल परोपकारी तथा सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनीका सञ्चालक हुन्। उनी यतिबेला आफूले सकेको सडकमा देखिएको कुकुर, गाईवस्तु, बाँदर र पशुपंक्षीलाई खानेकुरा बाड्दै हिँडिराखेका छन्।

समाजसेवी रिमालले काठमाडौं भित्रका विभिन्न ठाउँमा पुगेर दुःखी गरिब मानिसहरु, बाँदर, गाई, कुकुरलगायतलाई खाना खुवाउँदै आएको बताए। उनले भने, ‘लकडाउनको पहिलो दिनदेखि नै केहि सहयोग गरुम् भन्ने सोच लिएर अघि बढेका थियौं। त्यसपछि कुकुर, बाँदर, गाई आदिलाई खानाका लागि सहयोग गर्न थालेको हो।’

प्रत्येक दिन कुकुर, बाँदर, पशुपक्षीलाई खानाका लागि सहयोग गरिरहेको बताउने उनले भने, ‘अहिले सम्म पाँच हजार परिवारहरुलाई सहयोग गरिसक्यौं।’ उनले ठमेल एरियामा गएर ३५ जना तेस्रोलिंगीलाई समेत खाद्यन्यलगायतको सहयोग गरेको बताए।

तेस्रोलिंगीहरुले फोन गरेर सहयोग गर्न आग्रह गरेपछि आफूले सहयोग गरेको रिमालले बताए। उनीहरुको दुःखलाई उजागर गर्दै रिमालले भने, ‘उहाँहरु हाम्रो समाजबाट धेरै नै बिछोडिएको हुनुहुन्छ र उहाँहरुलाई धेरै कम मानिसहरुले मात्र सहयोग गर्छन्। उहाँहरु पनि मान्छे नै हो। सबैले उहाँहरुलाई सहयोग गर्नु पर्छ, छुट्याउनु हुँदैन। दुःख परेको बेला सक्नेलाई सबैलाई सहयोग गर्नु पर्छ।’

सहयोग गर्न पाउँदा खुशी र मन आनन्द लाग्ने गरेको बताउने उनी अहिलेको माहामारीमा सबैले मिलेर एकअर्कालाई सहयोग गर्नुपर्ने र यो गाह्रो समयमा सक्नेले सहयोग गर्दा धेरैको ज्यान जोगिने विश्वास राख्छन्।

कुकुर र बादरलाई खाना खुवाउने काम उनी अहिले निरन्तर गरिहेका छन्। उनी बिहान आफ्नो गाडीमा जनावरको लागि खाना बोकेर दिनहुुँ घरबाट बाहिर निस्किन्छन्।

कोरोना माहामारी र निषाधज्ञाले मानिसहरुले दुःख पाएको र जनावरहरु भोकभोकै भएको देखेकोले नै आफूले सकेको सहयोग गरौं भन्ने लागेर आवश्यक सामाग्री लिएर बाहिर निस्केको उनले बताए ।

सुरुका दिनमा एक्लै बाहिर निस्केर सहयोग गरेको देखेर उनलाई अहिले साथीभाईहरुले पनि साथ दिएको उनले बताए । उनले भने, ‘मैले व्यक्तिगत सहयोग गर्र्दै आएको छु। तर, आजभोलि भने मैले गरेको कामबाट प्रभावित भएर साथी भाइहरुले पनि सहयोग गरिरहेका छन्।’

घरबाहिर आफूभन्दा पनि धेरै दुःख पाएका मानिसहरुलाई प्रत्यक्ष भेटेको, देखेकोले आफूलाई थप सेवा गर्न मन लागेको उनी बताउँछन्। साथै, सरकारबाट केही सहयोग नभएकाले सक्नेजति जोकोहीले नै सहयोग गर्नु पर्ने उनी बताउँछन्।

सुरूका दिनमा सौरभले २५–३० वटा कुकुुरलाई खाना दिन्थे। उनी आफ्नै घरबाट पकाएर लैजान्थे। त्यतिबेला उनलाई सहयोग गर्ने कोही थिएनन्। समय बित्दै जाँदा सय–डेढ सय भन्दा धेरै कुकुर उनीसँग झुम्मिन थाले। कुकुरमात्रै होइन सडकका गाईवस्तु, बाँदर र परेवाको भोक देख्न सकेनन् र सबैको सेवामा जुटे उनी।

सुरुको दिनमा खाना दिन कुकुर खोज्नुु पथ्र्याे। अहिले सजिलो भएको छ। मलाई देख्नेवित्तिकै आफैं आउँछन्,’ उनको गाडी देख्ने वित्तिकै कुकुरको ‘लाइन’ लाग्ने गरेको रिमालले बताए।

हाल गर्दै गरेको अहिलेको समाजसेवाको कामलाई धेरैले सहयोग र आर्शिवाद दिएकाले अझ थप उर्जा मिलेको उनले बताए। पछिल्लो समय काठमाडौं भित्र नभएर बाहिर गएरपनि मानिसहरूलाई सहयोग गरेको उनले सुनाए। उनी भन्छन्, ‘एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्नु नै जीवनको सार्थकता हो, मानवता हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *