महानगरको निःशुल्क पीसीआर सेवा हरेक दिन विहान ११ बजेदेखि

डिसी नेपाल
९ जेठ २०७८ १९:३२

काठमाडौँ। कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ। जसअनुसार अव हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २ वटा केन्द्रबाट परीक्षण हुनेछ। यसअघिको नियमित तालिकामा दिनको १ केन्द्रबाट मात्र हुने गरेकोमा अब २ देखि ३ केन्द्रबाट परीक्षण हुनेछ। यसका अतिरिक्त धेरै संख्यामा परीक्षण गर्नुपर्ने वडाबाट माग आएमा त्यस ठाउँमा पनि परीक्षण हुनेछ।

नयाँ तालिकाअनुसार आइतबार वडा २९ को पद्मकन्या स्कूल डिल्लीबजार र वडा ४ को विशाल मिलन केन्द्रमा परीक्षण हुनेछ। त्यसैगरी सोमबार वडा १६ को वहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (जुडो हल), वडा २० को शान्ति निकुञ्ज विद्यालय र वडा ३२ कार्यालय परिसरमा परीक्षण हुनेछ।

मंगलबार वडा ८, बजबागेश्वरी, १४ कलंकी र २६ लैनचौर कार्यालय परिसरमा, बुधबार मीनभवनस्थित साविक ट्रलीबस परिसरमा र वडा १५ को भुइँखेलमा, विहीबार बसन्तपुर र महावौद्धमा तथा शुक्रबार वडा ३ कार्यालय परिसर महाराजगञ्ज र वडा ६ कार्यालय परिसर बौद्धमा परीक्षण हुनेछ। महानगरको यो सेवा निःशुल्क हो।

परीक्षण गर्न जानु अघि सम्बन्धित वडाका क्लिनिक इन्चार्जसँग सम्पर्क गरेर आईएमयू (इन्फरमेसन म्यानेजमेन्ट युनिट) मा विरामीको विवरण भर्नु पर्छ। पहेँलो रङ्गको फारमका प्रारम्भिक विवरण भरेपछि यी विवरण अनलाइन विधिमार्फत प्रणालीमा पठाइन्छ।

महानगरका पीसीआर कार्यक्रम संयोजक ऋषिप्रसाद भुषाल भन्छन्, ‘अनलाइनमा तथ्याङ्क भरेपछि एउटा कोड आउँछ। यो कोडलाई पहेँलो फारममा टिपेपछि आईएमयू प्रक्रिया पूरा हुन्छ। जसले पीसीआर गराउने हो, उसको यो विवरण अनिवार्य हुनुपर्छ। कुनै कारणले परीक्षण पूर्व विवरण भर्न सकिएन भने परीक्षण गरेपछि यी विवरण भर्नुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *