यस्तो छ नागरिकता पाउने अबको व्यवस्था (अध्यादेशसहित)

डिसी नेपाल
९ जेठ २०७८ २०:१६

काठमाडौं। सरकारले अध्यादेश मार्फत नागरिकता ऐन संशोधन गर्दै नेपाली नागरिक आमाबाट जन्मेका र बाबुको कुनै पहिचान नखुलेकाले पनि वंशजका आधारमा नागरिकता पाउने व्यवस्था गरेको छ। यसअघि यो व्यवस्था थिएन। आमा बाबु नै नेपाली नागरिकताधारी भएपछि तिनका सन्तानले नेपाली नागरिकता पाउने व्यवस्था थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषदको सिफारिस बमोजिम यो अध्यादेश जारी गरेकी हुन्।

यस्तै नेपालमा जन्मेर नेपालमै बस्नेले पनि जन्मसिद्ध अधिकारबाट नेपाली नागरिकता पाउने व्यवस्था अध्यादेश मार्फत गरिएको छ। संसदमा रहेको नागरिकता संशोधन विधेयकमा यी दुबै विषयमा एमालेबाटै विरोध हुँदै आएको थियो। तर, सरकारले अहिले अध्यादेशमार्फत नागरिक ऐन संशोधन गरेको हो। नागरिकता ऐन २०६३ लाई २०७२ मा जारी संविधानअनुसार संशोधन गर्नुपर्ने आवश्यकता थियो। त्यसैअनुसार संसदमा विधेयक दर्ता भएको थियो।

तर, प्रतिनिधिसभा विघटनसँगै सो विधेयक निष्क्रिय भइसकेको छ। तर, अध्यादेशबाट ऐन भने संशोधन भएको छ। यो ऐन संशोधनमा मधेशवादीहरुको मुख्य माग रही आएको थियो। यो अध्यादेशलाई मधेश केन्द्रित दल तथा अभियन्ताहरुले स्वागत गरेका छन्। राप्रपाका अध्यक्ष कमल थापाले विरोध जनाएका छन्। अन्य प्रमुख दलहरु काँग्रेस र माओवादीले आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *