राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ताः १० लाख डोज खोप सहयोग गर्ने घोषणा

खेमराज थापा
१२ जेठ २०७८ १७:१४

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र उनका चिनियाँ समकक्षी सी चिनफिङबीच बुधबार फोन वार्ता भएको छ। राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालका अनुसार सो फोन वार्तामा राष्ट्रपति भण्डारीले मुख्यतः तीन वटा विषयमा जोड दिएकी छन्।

ढकालका अनुसार राष्ट्रपति भण्डारीको जोड कोरोनाविरुद्धको खोपमा रहेको थियो। उनका अनुसार राष्ट्रपति भण्डारीले नेपाल कोरोनाको महामारीमा फसेको भन्दै चीनबाट कोरोनाविरुद्धको खोप किन्न नेपाल इच्छुक रहेको बताएकी छन्। उनले खोप खरिदका लागि सहजीकरणका लागि राष्ट्रपति सी समक्ष आग्रह गरेकी छन्।

जवाफमा चिनियाँ राष्ट्रपति सीले चीनले नेपाललाई सँधै असल छिमेकीका रुपमा हेरेको भन्दै राष्ट्रपति भण्डारीको आग्रह अनुसार सहयोग गर्न तत्पर रहेको बताएका छन्।

काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्कीले वार्ताका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको जानकारी दिएकी छन्।

चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज सिनो फार्माको उत्पादन भोरेसेल खोप अनुदान सहयोग गरेको थियो। नेपालले सो खोप खरिद गर्ने पहल गरिरहेको छ। यहीबीचमा राष्ट्रपति भण्डारीले आफ्ना चिनियाँ समकक्षीसँग आग्रह गरेकी हुन्।

प्रेस विज्ञ ढकालका अनुसार राष्ट्रपति भण्डारीले फोन वार्ताका क्रममा अर्को महत्वपूर्ण विषय दुई राष्ट्रपतिले एकअर्काको मुलुकमा गरेको उच्चस्तरी भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनको विषयलाई उठाएकी थिइन्। राष्ट्रपति भण्डारीले चीनको र राष्ट्रपति सीले नेपालको भ्रमण गरेका थिए। सो भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको थियो। र विभिन्न सम्झौताहरु भएका थिए।

यस्तै राष्ट्रपति भण्डारीले तेस्रो विषय आपसी सम्बन्धका विषयलाई उठाएको प्रेस विज्ञ ढकालले बताए। उनका अनुसार नेपाल र चीनको बीचको आपसी सम्बन्धलाई नयाँ उँचाइमा पुर्याउने विषयमा दुबै राष्ट्रपतिबीच सौहार्द रुपमा कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारीले यसअघि दक्षिणी छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविदलाइ पत्र पठाएकी थिइन्। सो पत्र पनि खोपमै केन्द्रित रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *