गर्लफ्रेण्डलाई करोडौंको कार मागिदिन भोकै भगवानको तपस्या गर्न बसेका युवक झण्डै मरेनन्

डिसी नेपाल
१२ जेठ २०७८ १७:२६

काठमाडौं। हामीले धर्मशास्त्रका विभिन्न पुस्तकहरुमा विभिन्न व्यक्तिहरुले भगवानको तपस्या गरेर विभिन्न वरदानहरु पाएको पढेका वा सुनेका छौं । तर यी कथाकै आधारमा हामी तपस्या गर्न भने जाँदैनौं । तर, जिम्बाब्बेका एक युवक भने आफ्नी गर्लफ्रेण्डलाई करोडौं मूल्य पर्ने कार उपहार दिनको लागि साँच्चिकै भगवानको तपस्या गर्न गए । उनी कसैलाई आफू कहाँ जाँदैछु भन्ने जानकारी समेत नदिइ तपस्या गर्न गएका थिए ।

जिम्बाब्बेको राजधानी हारारेबाट प्रकाशित हुने स्थानीय अखबार एम्बारे टाइम्सका अनुसार ती युवक आफ्नी गर्लफ्रेण्डलाई महंगो लेम्बोर्गिनी कार उपहार दिन चाहन्थे तर उनीसँग पैसा थिएन । मध्य जिम्बाब्बेको रिसेन सेन्ट्रल चर्चमा काम गर्ने मार्क मुराडजीरा नामका ती युवकसँग पैसा नभएपछि उनी भगवानको तपस्या गर्ने निष्कर्षमा पुगेका थिए ।

आफ्नो तपस्याबाट भगवान प्रसन्न हुने र आफूलाई दर्शन दिने उनलाई विश्वास थियो । उनले भगवानले दर्शन दिएपछि आफूले भगवानसँग लेम्बोर्गिनी कार माग्छु भन्ने सोचेका थिए । यो विश्वासका साथ उनले ४० दिन र ४० रातसम्म तपस्या गर्ने निश्चय गरेका थिए । यो अवधिमा आफूलाई केही खान लोभ नलागोस् र अरु कसैले पनि आफूलाई खान दबाब नदिउन् भनेर उनी एक पहाडमा गएर तपस्या गर्न थालेका थिए ।

मार्क एकाएक हराएपछि उनको खोजी भयो । खोजीका क्रममा उनले हराउनुअघि केही व्यक्तिहरुलाई आफूलाई भगवानले लेम्बोर्गिनी कार दिन लागेको बताएको खुलासा भयो । उनले केही मानिसहरुसँग आफूले भगवानसँग लेम्बोर्गिनी कार माग्ने आइडिया पाएको बताएका थिए । उनले आफूले ४० दिन र ४० रातसम्म भगवानको तपस्या गरेपछि भगवानले आफूलाई लेम्बोर्गिनी कार दिने भनेर उनले केही व्यक्तिहरुसँग कुरा गरेका थिए । यसैका आधारमा उनको खोजी थालियो ।

हराएको ३३ औं दिनमा मात्र उनलाई तपस्या गरिरहेको अवस्थामा फेला पारियो । फेला पर्दा २७ वर्षका मार्क निकै कमजोर भइसकेका थिए । उनलाई अस्पतालमा भर्ना गरियो । बिन्दुर जनरल अस्पतालमा भर्ना गरिएका मार्कको स्वास्थ्यमा सुधारको संकेत देखिएको छ । उनले काम गर्ने चर्चका बिशप मावरुले उनले कारको लागि तपस्या गर्नु दुखद भएको बताउँदै भने ‘कमसेकम उनले जागिरको लागि तपस्या गर्नुपर्ने किनकि उनी बेरोजगार थिए ।’

उनको यो अवस्था देखेपछि उनका केही साथीहरुले उनका लागि ल्याम्बोर्गिनी कार किनिदिनका लागि केही पैसा जुटाएका थिए तर, जिम्बाब्बेसम्म ल्याउँदा सबैभन्दा सस्तो लेम्बोर्गिनीको मूल्य पनि कम्तीमा ४ लाख डलर (४ करोड ६५ लाख रुपैयाँ) पर्ने भएपछि त्यो पैसा मार्कको उपचारमा खर्च गरिँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *