यो हप्ता कोरोना संक्रमण घटेको हो? विज्ञ भन्छन्– अहिले अवस्था स्थिर छ

सम्भव सिंह ठकुरी
१४ जेठ २०७८ ७:५३

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको एक वर्ष भन्दा धेरै भइसकेको छ भने कोरोनाको दोस्रो लहरले आक्रान्त बनाएको पनि करिब दुई महिना पुग्न लागेको छ।

कोरोनाको दोस्रो लहर सुरुभएसँगै स्थिति भयावह भयो। संक्रमण समुदायस्तरमा फैलिएपछि धेरैले ज्यान गुमाइसकेका छन्। अक्सिजन, बेड र भेन्टिलेटर नपाएर धेरैको ज्यान गयो। अस्पताल भरिभराउ भए। बेड नपाएर बिमारीले अस्पतालको प्रांगणमा नै उपचार गराएका कारुणिक दृष्य सामान्य बन्न थाले।

दोस्रो लहरको भाइरस संक्रमणले दैनिक नौ हजारभन्दा धेरै संक्रमित संख्या थपिन थालेपछि सरकारले निषेधाज्ञा जारी गरेको एक महिना पूरा भएको छ। तर यो साताबाट संक्रमितको संख्यासँगै संक्रमण मुक्त हुनेको संख्या पनि उच्च छ।

स्वास्थ्य मन्त्रालयको बिहीबारको तथ्याकंक अनुसार बिहीबार मात्रै ७ हजार २ सय २६ जना कोरोना मुक्त भएका छन् भने ६ हजार ९ सय ३९ जना संक्रमित भएका छन्। स्वास्थ्यमन्त्रालयको तथ्यांकले नेपालमा कोरोनाको संक्रमणको दरमा केही कमी आएको देखाउँछ।

बुधवारको तथ्यांक अनुसार ६ हजार ७ सय १४ जना संक्रमण पुष्टि भयो। भने ६ हजार ७ सय १६ संक्रमण मुक्त भएका छन्। सो दिन संक्रमण भएको भन्दा संक्रमित निको भएको संख्या २ जना बढि भएको हो।

के भन्छन्  विज्ञ ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा.शेरबहादु पुनका अनुसार यो साताको संक्रमित संख्या र र संक्रमण मुक्त हुनेको संख्या स्थिर भएको बताउँछन्। उनका अनुसार यो अवस्था कायमै रहनुलाई केही सकारात्मक मान्न सकिन्छ।

अहिले सुरुका केही साता जस्तो विकराल रुपमा संक्रमित थपिने र अस्पतालमा बेड र अक्सिजनको अभावमा चौर र अस्पताल बाहिर बरण्डामा संक्रमित राख्नु परेको अवस्था पनि कम हुँदै गएको डा.पुनले बताए।

‘यसको प्रमुख कारण भनेको एक लाख भन्दा धेरै संक्रमितहरु होम आइसोलेशनमा छन्। निषेधाज्ञा भएको पनि एक महिना भन्दा धेरै भयो। त्यससकारण बाँकी संक्रमितबाट अन्यमा सर्ने सम्भावना कम हुँदै गएकाले यो साता स्थिर संक्रमित भएको मान्न सकिन्छ,’डा. पुनले भने। यो संकेतले अब केही साता पछि अवस्था सामान्य हुन सक्ने उनको भनाइ छ।

डा. पुनका अनुसार संक्रमित संख्या केही स्थिर भएपनि मुत्यु संख्या अहिलेको भन्दा कम हुन केही समय लाग्न सक्छ। ‘नेपाल जस्तो सीमित स्रोतसाधन भएको देशमा यस्ता महामारी परास्त गर्न हामीले पूर्णरुपमा निषेधाज्ञाको पालना गर्नुको विकल्प छैन,’ उनले भने।

अहिले नयाँ खालको भेरियन्ट पनि देखा पर्न थालेको छ, यसले तेस्रो लहरको महामारी पनि आउन सक्ने सम्भावना छ भन्छन् नि? भन्ने प्रश्नमा उनले भने, ‘त्यो खाले जोखिम कायमै छ। तर हामीले त्यसका विरुद्ध लड्न अहिलेदेखि स्वस्थ्य सावधानी अपनाउने हो भने र सरकारले पनि सबै नागरिकलाई खोपकोे सुश्चितता गर्ने हो भने दोस्रो लहर जस्तो महामारी हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *