३ शक्तिशाली देशमा ऐतिहासिक फैसला, अस्ट्रेलियामा सरकारविरुद्ध बालबालिकाले मुद्दा जिते

डिसी नेपाल
१५ जेठ २०७८ १०:४६

काठमाडौं। विश्वका तीन फरक फरक र शक्तिशाली देशहरुमा वातावरण संरक्षणका विषयमा अदालतहरुले ऐतिहासिक फैसला गरेका छन् । पहिलो फैसला अस्ट्रेलियाको मेलबर्नस्थित संघीय अदालतले गरेको हो । अदालतले कोइला खानीका विषयमा सरकारविरुद्ध ८ जना बालबालिकाको तर्फबाट परेको मुद्दामा बालबालिकाको पक्षमा फैसला गरेको छ ।

अर्को ठूलो फैसला अमेरिकामा भएको छ । अमेरिकामा प्रतिष्ठित तेल कम्पनीहरु एक्सन मोबिल र सेभरोनलाई लगानीकर्ताहरुले कडा चेतावनी दिएका छन् । लगानीकर्ताहरुले ग्लोबल वार्मिङलाई रोक्न आवश्यक कदम नउठाएको भन्दै कम्पनी संचालकहरुलाई चेतावनी दिएका हुन् । बोर्डको चुनावमा पनि संचालक पराजित भएका छन् । अर्को फैसला नेदरल्याण्डको अदालतले गर्यो । यहाँ अदालतले देशमै पहिलो पटक कुनै कम्पनीलाई अन्तर्राष्ट्रिय सम्झौताको पालना गर्न आदेश दिएको छ ।

अस्ट्रेलियामा ८ जना बालबालिकाहरुले देशमा चलिरहेका कोइला खानीमाथि रोक लगाउन माग गर्दै सरकारविरुद्ध मुद्दा हालेका थिए । उनीहरुले प्रदूषणबाट आफूहरुको सुरक्षा गर्नु सरकारको जिम्मेवारी भएको दावी गरेका थिए । मेलबर्न संघीय अदालतका न्यायाधीश मोर्डेसाइ ब्रोमबर्गले बालबालिकाको पक्षमा फैसला गरेका छन् ।

अमेरिकामा एक्सन र सेभरोन कम्पनीलाई लगानीकर्ताले ग्लोबल वार्मिङका विषयमा काम नगरेको भन्दै चेतावनी दिए । उनहिरुले बोर्डमा २ सिट पर्यावरण कार्यकर्ताहरुको हेज फण्डका लागि छुट्याइदिए । सेभरोनका दुई तिहाइ लगानीकर्ताले उत्सर्जन घटाउन निर्देशन दिए ।

नेदरल्याण्डमा पनि अदालतले ऐतिहासिक फैसला सुनायो । यहाँ तेल कम्पनी शेलसहित अन्यलाई पेरिस सम्झौताको पालना गर्दै १० वर्षमा उत्सर्जन ४५ प्रतिशत घटाउन आदेश दिइएको छ । उनीहरुलाई जीवाश्म इन्धन निकाल्न पनि रोक लगाइएको छ । अदालतले यो कुरा विश्वभरी लागू हुने भनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *