जेफ बेजोस संसारकै धनी व्यक्ति रहेनन्, को हुन् उनलाई उछिन्ने अर्बपति ?

डिसी नेपाल
१६ जेठ २०७८ १०:०६

काठमाडौं। अमेजनका सीइओ जेफ बेजोस् विश्वकै सबैभन्दा धनी व्यक्ति रहेनन् । अघिल्लो हप्ता पटक पटक अघिपछि हुने प्रतिस्पर्धाका बीच बर्नार्ड आर्नल्टले जेफ बेजोसलाई पछि पारेका छन् । बिहीबार हप्तामा तेस्रो पटक बेजोसलाई उछिनेका अर्नाल्टको सम्पत्ति अहिले बेजोसको भन्दा ५ अर्ब डलरभन्दा धेरैले बढेको छ । विलासी सामानहरुको कम्पनी एलभीएमएचका अध्यक्ष बर्नार्ड आर्नल्टको सम्पत्ति पछिल्लो हप्ता ह्वात्तै बढेको छ ।

फोर्ब्सको रियल टाइम बिलियनेयर्स लिस्टका अनुसार आइतबार बिहान बर्नार्ड आर्नल्टको सम्पत्ति १९२.२ बिलियन डलर छ । यही समयमा जेफ बेजोसको सम्पत्ति १८७ बिलियन डलर छ । पछिल्लो हप्ता जेफ बेजोस र बर्नार्ड आर्नल्टबीच एक अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलेको थियो । बिहीबार तेस्रो पटक बेजोसलाई उछिनेपछि अहिलेसम्म आर्नल्ट बेजोसको भन्दा ५ बिलियन डलर बढी सम्पत्तिका साथ शीर्ष स्थानमा स्थिर छन् ।

बर्नार्ड फ्रान्सका व्यवसायी हुन् । उनी विलासी सामान बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एलभीएमएचका अध्यक्ष हुन् । ग्रयाजुएसनपछि बर्नाडले पहिले १९७१ मा आफ्ना पिताको सिभिल इन्जिनियरिङ कम्पनीको काम हेर्थे । १९७६ मा उनले उक्त कम्पनीलाई रियल स्टेट कम्पनीमा परिणत गरे । १९८४ मा उनले मूल्यवान सामान र कपडा बनाउने फ्रेन्च कम्पनी फाइनान्सियरे अगाचे र बोसेक सेन्ट फोरेरेसलाई अधिग्रहण गरे ।

त्यो समयमा बहुमूल्य ब्राण्ड क्रिस्चियन डिओरको अभिभावक कम्पनी बोसेक नै थियो । बर्नार्डले क्रिस्चियन डिओर ब्राण्ड छोडेर बोसेकका अरु सबै सम्पत्ति बेचिदिए । त्यसपछि उनले १९८७ मा नयाँ कम्पनी एलभीएमएच बनाएका थिए । अहिले यही कम्पनकिो शेयर मूल्यमा उछाल आउँदा बर्नार्ड विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन् ।

बर्नार्डको नेटवर्थ पछिल्लो १३ महिनामा १५० प्रतिशतभन्दा धेरैले बढेको छ ।अप्रिल २०२० मा उनको नेटवर्थ ७६ बिलियन डलर थियो । यो अहिले बढेर १९२ बिलियन डलर पुगेको छ । यसको ठूलो कारण उनको कम्पनी एलभीएमएचको शेयर मूल्यमा उछाल आउनु हो । मार्च २०२० मा एलभीएमएचको शेयर मूल्य प्रतिकित्ता ३४० युरोको आसपास थियो । तर, मे २०२१ मा यो कम्पनीको शेयर ६४८ युरोको आसपासमा कारोबार भइरहेको छ । एक वर्षमै एलभीएमएचको शेयर मूल्य ९० प्रतिशतभन्दा धेरैले बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *