दुश्मनी भुलेर मित्रता बढाउँदै कतार र यूएई

डिसी नेपाल
१६ जेठ २०७८ १८:५८

दोहा (एजेन्सी)। कतारका विदेशमन्त्रीले सँयुक्त अरब इमिरेट्स (यूएई) र कतारबीच कैयौं चरणको वार्ता भएको जानकारी दिएका छन्। उनले आपसी विवादलाई भलाउँदै दुबै देशबीच वार्ता भएको र सकरात्मक माहोल बनिरहेको बताएका छन्।

अरब देशहरुबीच आपसी विवादलाई समाप्त पार्न भएको सम्झौतापछि कतार यूएईबीच यो वार्ता भएको हो। २०१७ मा साउदी अरब, यूएई, बहराइन र इजिप्टले कतारसँगको सबै सम्बन्ध तोडेका थिए। र कतारमाथि नाकाबन्दी लगाइएको थियो।

यी देशहरुले कतारमाथि इस्लामी चरमपन्थीलाई बढाएको आरोप लगाएका थिए। तर कतारले यी आरोप खारेज गरेको थियो। तर यसै वर्ष साउदी अरबले यो विवाद समाप्त पार्ने घोषणा गर्यो। रोयटर्सका अनुसार साउदी र इजिप्ट, यूएई र बहराइनको तुलनामा कतारसँग तिब्र रुपमा सम्बन्ध सुधार गरिरहेका छन्।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले शुक्रबार एक अन्तर्वार्तामा फरक फरक देशसँग फरक फरक गतिमा वार्ता हुनु कुनै ठूलो कुरा नभएको बताएका थिए। उनका अनुसार साउदी र इजिप्टसँग कतारले आर्थिक सहयोगको मुद्दामा वार्ता गरिरहेको छ। उनले यूएईसँग कैयौं चरणको वार्ता भएको र सकरात्मक माहोल बनको बताए। तर, सम्बन्धमा न्यानोपन आउन केही समय लाग्न सक्ने उनको भनाइ थियो।

इस्लामी संगठन खास गरेर मुस्लिम ब्रदरहुडप्रति कतारले गरेको समर्थनलाई यूएई र इजिप्टले विरोध गर्दै आएका छन्। यूएई, साउदी र बहराइनले मुस्लिम ब्रदरहुडमाथि प्रतिबन्ध लगाएका छन्।

कतारका विदेशमन्त्रीले एक प्रश्नको जवाफ दिँदै इजिप्टसँगको वार्ताका क्रममा मुस्लिम ब्रदरहुडको मुद्दा नउठेको बताएका छन्।

अरब देशहरुले नाकाबन्दी गरेपछि कतारले आत्मनिर्भरको दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कतारमाथि नाकाबन्दी हुँदा टर्कीले उसलाई सक्दो सहयोग गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *