तीन तहका सरकार र किसानको साझेदारीमा उन्नत पशुपालन अभियान

डिसी नेपाल
२० जेठ २०७८ ८:०८

दैलेख । भगवतीमाई गाउँपालिकाले पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत उन्नत भैँसीपालन कार्य शुरु गरेको छ। गाउँपालिकाले अहिले उन्नत भैँसी र जर्सी गाई खरिद गरेर किसानलाई वितरण गरेको छ। सङ्घ, प्रदेश, स्थानीय सरकार र स्वयं कृषकको साझेदारीमा उन्नत पशुपालन कार्यक्रम गाउँमा शुरु गरिएको हो।

दूध उत्पादन अभियानको पहिलो चरणमा ६८ वटा भैँसी वितरण शुरु गरिएको छ। भैँसी खरिदका लागि सङ्घ सरकारको रु २१ लाख, प्रदेश सरकारको रु २० लाख, स्थानीय सरकारको रु २१ लाख र स्वयं किसानको रु १८ लाख साझेदारीमा रु ८० लाखको लागतमा उन्नत भैँसीपालन कार्यक्रम शुरु गरिएको हो।

उक्त कूल रकमभित्र भैँसीको बिमा गरिएको छ, भकारो सुधार, घाँस उत्पादनका लागि घाँसको बिउ, किसानलाई तालिमलगायतका अन्य प्राविधिक सेवासमेत प्रदान गरिएको छ। उत्पादन भएको दूधको बजारीकरणका लागि पालिकामै चिलिम भ्याट स्थापना गरिएको छ। यसले किसानको आर्थिक अवस्था सुधार गर्न सजिलो हुने देखिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।

किसानको आफ्नो लगानी भएपछि अपनत्व ग्रहण हुने भएकाले हरेक कार्यक्रम साझेदारीमा सञ्चालन गरिएको अध्यक्ष थापाले बताए। तीन तहका सरकार र किसानसँगको साझेदारीमा काम गरिएकोले भैँसीपालन प्रभावकारी हुने उनको भनाइ थियो। आफूले लगानी नगरेसम्म नहुने भएकोले थोरै भए पनि किसानलाई लगानी गर्ने अभियान पालिकाले थालनी गरेको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले आवश्यक पर्ने सबै प्राविधिक काममा सहजीकरण गरिदिएको छ। जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत पालिकामा दूध उत्पादन कार्यक्रम शुरु गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए। गत वर्ष प्रदेश र स्थानीय सरकारको साझेदारीमा नारायण नगरपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा दूध उत्पादन कार्यक्रम सञ्चालन भइसकेको र किसानले मासिक लाखौँ रुपैयाँ गाउँमा भित्र्याएको उनले बताए।

यो अभियानले पालिकालाई दूधमा आत्मनिर्भर बनाएकाले भैँसीसँगै उन्नत गाई पनि वितरणको तयारी थालिएको छ। पहिलो पटक भैँसी वितरण काम शुरु गरेको र नेपालगञ्जबाट लकडाउनको अवधिमा भैँसी ल्याउँदा चुनौती भएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखतबहादुर खड्काले बताए। पालिका स्थापना भएको दोस्रो वर्षमै स्थानीयवासी १४० युवालाई श्रम रोजगार बैंकमार्फत रोजगारी दिएको गाउँपालिकाले यो वर्ष कृषिमा चक्लाबन्दी कार्यक्रमसमेत सञ्चालन गरेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *