भेरी अस्पताल घटनाको छानविन समितिले प्रतिवेदन बुझायो, दोषीलाई कारवाहीको सिफारिस

डिसी नेपाल
२० जेठ २०७८ १३:२५

काठमाडौं। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा भएको घटनालाई बुझ्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। बुधबार सहयक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा गठित समितिले जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रतिवेदन सार्वजनिक भएको जानकारी दिए। उनका अनुसार प्रतिवेदन २५ पृष्ठको रहेको छ।

अस्पतालको घटनामा दोषीलाई कारवाही गर्न प्रतिवेदनले माग गरेको प्रजिअ गेलालले डिसी नेपाललाई जानकारी दिए। उनका अनुसार अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नु पर्ने जस्ता सुझावहरु पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘प्रतिवेदन अनुसार मृतकका परिवारले आवेगमा आएर हातपात गरेको भन्ने निष्र्कष छ’ गेलालले भने, ‘सुरक्षा निकायले पनि सुरक्षामा ध्यान दिनु पर्ने भन्ने कुरा पनि छ।’

ऐन तथा कानुन पनि परिवर्तन गरिनु पर्ने भन्ने विषयको पनि कुरा उठाएको प्रजिअ गेलालले जानकारी दिए। उनले विषेश गरी घटनामा संलग्नलाई कारवाही गरिने कुरा पहिलो सुझावमै लेखिएको बताए।

अस्पतालका नर्स तथा डाक्टरहरुले गरेको आन्दोलन आज पनि जारी छ। ‘हामी ५ बजे फेरी आन्दोलनका लागि जम्मा हुन्छौं’ एक नर्सले भनिन्, ‘प्रतिवेदन आएको कुरा त्यसपछि थाहा होला। अहिले त के कस्तो आएको छ भन्ने कुरा थाहा छैन।’

उनले घटना हुनुपूर्व पनि आफू मुख्यमन्त्रीको मान्छे हुँ भन्दै अस्पतालमा धम्काएको कुरा दर्ता भएको बताइन्। उनले भनिन्,  ‘मुख्यमन्त्रीको सिफारिस लिएर विरामी आएका हुन्। कुरुवाले पनि हामी मुख्यमन्त्रीको मान्छे हौं भन्दै धम्काइरहन्थे। त्यो धम्काएको कुरा अस्पताल प्रशासनमा दर्ता पनि भएको छ।’

अस्पतालका बरिष्ठ फिजिसियन बद्रि चापागाईँले छानविन समितिले आवश्यक ठानेर सबैलाई सोधपुच गरी सत्यतथ्य कुरा बाहिर ल्याएको हुनसक्ने बताए। ‘प्रतिवेदन पढ्न पाइएको त छैन,’ डा. चापागाईँले भने, ‘छानविन समितिमा रहेका व्यक्तिहरुले न्यायपूर्ण काम गर्नु हुन्छ भन्ने अपेक्षा छ। अदालति प्रक्रियामा के हुन्छ, प्रतिवेदनले के भन्छ त्यो बसै हेर्दै जाने कुरा हो।’

अस्पतालमा हुने यस्ता घटनाहरु निन्दनीय भएको उनको भनाइ छ। भावनात्मक उत्तेजना हुन सक्छ तर, उपचारमा खटिएका व्यक्तिहरुलाई हातपात राम्रो नभएको उनको भनाइ छ।

यो घटनामा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। उक्त घटनाको चौतर्फी विरोध भएको थियो।

राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति, नेकपा माओवादी केन्द्रका, लुम्बिनीका मुख्यमन्त्रीलगायत का नेताहरुले घटनाका दोषीमाथि कारबाहीको माग गरेका थिए।

गत जेठ १३ गते बेलुकी ८ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *