कोरोनाको नेपाली भेरिएन्टबारे समाचार आएपछि बेलायतलाई नेपालको पत्र
काठमाडौं। कोरोनाभाइरसको नेपाली भेरिएन्टका कारण बेलायत सरकार चिन्तामा परेको समाचार बेलायती ट्याब्लोइड अखबार डेलीमेलले लेखेपछि नेपालले यसको खण्डन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतको स्वास्थ्य नियामक निकाय आइएचआरलाई पत्र लेख्दै यसबारे यथार्थ जानकारी मागेको छ ।
विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोनाभाइरसको अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) मात्र भेटिएको प्रस्ट पारेको छ । यसअघि कोरोनाभाइरसको भारतमा भेटिएको भेरिएन्ट डेल्टालाई भारतीय भेरिएन्ट भनिएको भन्दै भारतले सामाजिक संजालहरुलाई त्यो शब्द हटाउन निर्देशन दिएको थियो ।
डेलीमेलले बुधबार नेपाली भेरिएन्टका कारण बेलायती अधिकारी चिन्तामा परेको दावी गर्दै समाचार लेखेको थियो । लामो समयसम्म विभिन्न प्रतिबन्ध लगाएपछि अहिले विस्तारै खुकुलो बनाउँदै जाने बेलायती सरकारको नीतिलाई नेपाली भेरिएन्टले प्रभाव पार्ने जोखिम भएको समाचारमा जनाइएको थियो । अखबारले समाचारको शीर्षकमै ‘हाम्रो विदामा नेपाली भेरिएन्टको जोखिम’ लेखेको थियो ।
रिपोर्टमा वैज्ञानिकहरुले बेलायती मन्त्रीहरुलाई नयाँ म्युटेन्ट भेरिएन्टको बारेमा सचेत गराइसकेको दावी गरिएको छ । यो नयाँ म्युटेन्ट भेरिएन्ट नेपालमा उत्पत्ति भएको मानिएको छ र यो अहिले युरोपमा फैलिएको छ । वैज्ञानिकहरुलाई यो भेरिएन्ट खोप प्रतिरोधी हुन सक्ने डर भएको रिपोर्टमा जनाइएको छ । तर, बेलायत सरकारको साइन्टिफिक एडभाइजरी ग्रुप फर इमरजेन्सी (साग) कमिटीका एक सदस्यले भने अधिकारीहरु यो भेरिएन्टलाई लिएर धेरै चिन्तित हुनु नपर्ने भनेका छन् । उनले भने ‘यहाँ हजारौं भेरिएन्टहरु छन् । यो एउटा भाइरस हो र यो परिवर्तन भइरहेको छ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment