मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न सुदुरपश्चिम एमालेको निर्देशन

डिसी नेपाल
२५ जेठ २०७८ ६:४१

काठमाडाैं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ताएपछि सरकारको भविष्यबारे आज छिनोफानो हुने भएको छ।

मुख्यमन्त्री भट्ट आफूले विश्वासको मत पाउने र सरकार जोगिनेमा विश्वस्त देखिएका छन्। भट्टले आइतबार साँझ ५ बजेपछि प्रदेशसभा सचिवालयमा पत्र पठाएका थिए। उनले सोमबार नै विश्वासको मत लिन चाहेका थिए। तर, प्रदेश सभा नियमावलीले पत्र दर्ता भएको कम्तीमा ४८ घण्टापछि मात्रै प्रदेशमा पेस हुने व्यवस्था गरेको छ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ। प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन्। तर  माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरू अहिलेसम्म समर्थन कायम राख्नुपर्छ भन्ने अडानमा छन्। ओली पक्षका सांसदहरू भने केन्द्रको निर्देशन मानेर समर्थन फिर्ता लिनुपर्ने बताउँछन्।

सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेक एमालेभित्र नेपाल पक्षका १४ जना र ओली पक्षका ९ जना प्रदेश सभा सदस्य छन्। नेपाल पक्षमा रहेका ३ जना प्रदेशसभा सदस्य पछिल्लो समय ओली पक्षमा लागेका छन्। यसअघि १२ जेठमा प्रदेश संसदीय दलले भने यही सरकारलाई निरन्तरता दिने निर्णय गरिसकेको थियो। त्यही निर्णयलाई टेकेर मुख्यमन्त्रीलाई विश्वासको मत दिने गृहकार्यमा नेपाल पक्ष छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *