स्वास्थ्यमन्त्री तामाङद्धारा मातातीर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन

डिसी नेपाल
२६ जेठ २०७८ २१:०३

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले देशैभरि अक्सिजनको अभाव हुन नदिने बताएका छन् । सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित् मातातीर्थ सामूदायिक अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो बताएका हुन् ।

मन्त्री तामाङले चन्द्रागिरी नगरपालिका अक्सिजनमा आत्मनिर्भर बनेको भन्दै यहाँका जनप्रतिनिधिहिरुलाई बधाई तथा धन्यवाद समेत दिए । उनले भने,‘तपाईहरुको नगरपालिका आज अक्सिजनमा आत्मनिर्भर बनेको छ। यो खुशीको खबर हो । तपाईहरु सबै जना यसको लागि धन्यवादको पात्र हुनुहुन्छ ।’ उनले अक्सिजन प्लान्ट जडान गरेर आफ्नो जिल्ला सिन्धुपाल्चोकलाई पहिलो जिल्ला बनाउने प्रयास गरेपनि चन्द्रागिरी नगरपालिका पहिलो भएको भन्दै पूनः बधाई दिए ।

उनले सरकारले देशव्यापी रुपमा अक्सिजनको कुनै अभाव हुन नदिने पनि प्रतिबद्धता जनाए । अक्सिजन प्लान्ट जडान गर्नको लागि सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेकोले अब कार्यान्वयनको चरणमा जाने उनको भनाई छ । मन्त्री तामाङले उक्त सामूदायिक अस्पताललाई चाहिने आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि विश्वास दिलाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य रमा आलेमगरले पनि अक्सिजन प्लान्ट जडान गर्न सफल भएको भन्दै चन्द्रागिरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले अस्पताललाई आवश्यक सहयोग गर्नसमेत मन्त्री तामाङलाई आग्रह गरिन् ।

त्यस्तै, कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त श्रेष्ठले सबैको सहयोगले तोकिएको समयभन्दा धेरै अघि नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए । उनले यसमा सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरे ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरवासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिहरुको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

कार्यक्रममा अक्सिजन प्लान्ट जडान गर्ने कम्पनी मुनरक ईन्टरनेश्नल प्रालीका प्रवन्ध निर्देशक ई। प्रशान्त झाले तोकिएको समयभन्दा अघि नै आफूहरुले काम सम्पन्न गरेको बताए । र, उनले प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्ने पनि जानकारी दिए । झाले दश दिनभित्रै प्लान्ट जडान गर्न सकिने जानकारी दिए ।

उक्त आयोजनाको प्रोजेक्ट म्यानेजर पिक्सन इन्जिनियरिङ्ग सोलुसन प्रा।लि। का प्रबन्ध निर्देशक विनय श्रेष्ठ हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *