आफू राहतको लाइनमा बसेर अरुलाई राहत दिन अनुरोध गर्ने वृद्धा – Dcnepal

आफू राहतको लाइनमा बसेर अरुलाई राहत दिन अनुरोध गर्ने वृद्धा

काठमाडौं। सिन्धुपाल्चोककी  सीता थापा काठमाडौंका पशुपति मन्दिर परिसरमा बसेर भक्तजनलाई टीका लगाउने काम गर्थिन्। भक्तजनहरुले दिएको १०/२० रुपैयाँ भेटीले आफ्नो दैनिकी चलाउँदै आएकी थिइन्। लकडाउन भएपछि उनको दैनिकी जटिल बन्दै आएको छ।

छोराछोरीलाई जन्म दिए पनि निसन्तान जस्तै छिन् उनी। श्रीमानले अर्को विवाह गरेपछि २८ वर्षको उमेरमा काठमाडौं छिरिन्। आफूले जन्म दिएका छोराछोरीले छोडेर गएको घटना उनको मनमा अझै ताजै छ।

‘तीन छोराछोरी पाएकी थिएँ,’ पीडालाई मनमै दबाएर सीताले भनिन्, ‘छोरी पाँच वर्षको उमेरमा बितिन्, छोरा ४ वर्ष भएपछि बिते अर्को एक जनाले ज्यूदो पृथ्वी नै देख्न पाएनन्।’

काठमाडौंको सानो कोठामा आफ्नो दैनिकी चलाउँदै आएकी सीता जो कोहीसँग खुलेर कुरा गर्दिनन्। प्राय एक्लै रहने र मन भित्रको पीडालाई मनमै दबाएर ओठमा हाँसो ल्याएरै हिँड्छिन्। ‘बच्चाहरुको पनि मृत्यु भयो। श्रीमानले पनि अर्को विवाह गर्नुभयो। साह्रै चित्त दुखेर काठमाडौं आएकी हुँ।’

बिरक्तिएको मन, कलिलो जोवन लिएर काठमाडौं जस्तो शहरमा पसेपछि हरेक दिन समाजसँग र नराम्रो दृष्टिकोण राख्नेसित संघर्ष गर्नु पर्‍यो सीतालाई। धनीका घरमा भात पकाउने, लुगाधुनेलगायतको घरयासी काम गरेर सीताले आफूलाई काठमाडौंमा पाल्न सफल भइन्।

साहुमहाजनका घरमा काम गरेकोदेखि संस्थामा गएर हात्ती, घोडालगायत धेरै प्रकारका खेलौना बनाएको अनुभव पनि छ उनीसँग।
साहुमहाजनको घरमै बसेर घरयासी काम गर्नेदेखि काठमाडौंमा कोठा भाडामा लिएर बस्ने गरेकी उनी विभिन्न कारखानामा काम गरेर बेफुर्सदिली बनेकी उनी पछिल्लो समय वृद्धभत्ताबाट आएको पैसाले कोठाभाडाा तिर्ने र चिनेजानेकाले गरेको सहयोगले गजारा चलाउँदै आएकी छिन्।

उमेरमै काठमाडौं छिरेकी उनी चाहेको भए विहे पनि गर्न सक्थिन। तर, अगुल्टोले हिर्काएको कुकुर विजुली चम्किदा तर्सिन्छ भनेजस्तै, एउटा श्रीमानबाट धोका पाएपछि सबै केटाहरु प्रति वितृष्णा हुँदै गएको उनको अनुभव छ। अनुहारभरी दिक्कका धर्सा देखाउँदै उनी भन्छिन, ‘भो चाहिदैन, टन्न अघाइसकेपछि चाहिँदैन। एउटाले त त्यस्तो गरे अब अर्को।’

ज्यूँदो भगवानको दर्जा पाएको आमाबुबाको सेवा गर्ने मौका कमैले मात्र प्राप्त गर्छन। त्यौ सौभाग्य प्राप्त गर्नेमध्येकी एक सीता पनि हुन्। उनले जवानीमा कमाएको पैसाले आमाको सेवा गरिन्। ‘६ महिना त ओछ्यानमै सुतेर खस्नु भएको हो। उहाँ वितेको पनि धेरे वर्ष भयो।’ सीताले सुनाइन्, ‘त्येतिबेला कमाएको सबै पैसा आमालाई नै खर्च गरेँ। त्यही भएर म अहिले यस्तो भएकी हुँ, अरुसँग मागेर खानु पर्ने अवस्था आएको हो।’

कोरोना महामारीले उनको दैनिकीमा निकै असर गर्‍यो। आफैले मोबाइलमा भएको नम्बर डाइल गरेर फोन लगाउन नसक्ने सीतालाई अरु नै सहयो गरिदिन्छन्। देशमा भएको पहिलो पटकको लकडाउनमा पनि सीतालाई राहतका लागि पहल गरियो। त्यसबेलाको चामल सकिएको छ। शुक्रबार मात्र पुनः सीतालाई राहतका लागि पहल गरियो र राहात पाइन्।

सबैसँग नखुल्ने स्वभाव भएपनि डिसी नेपालसँग खुलिन्, उनले नै सबै राहतको परपञ्च मिलाइदिए। शुक्रबार निसानजय स्माइल फाउण्डेसन(एनएसएफ) द्वारा १० केजी चामल, एक लिटर तेल, रातो दाल, सोयाबिन, मसला र बेसारको प्याकेट आदि राहत सीताको भान्सामा पुगेको छ।

अरुले दिएको केही सहयोगबाट गुजारा चलाएकी उनी मनकी भने एकदमै धनी छिन्। आफू राहतकै लागि गए पनि आफूभन्दा अरुलाई प्राथमिकतामा राखेर सहयोग गर्न अनुरोध गर्थिन्। उनको नजिकै बस्ने एक परिवारलाई राहतका लागि सीता आफैले पहल गरिन्। उनले भनिन्, ‘उनीहरुलाई राहतको जरुरी छ। म त नखाए पनि बस्न सक्छु। उनीहरुका दुईवटा सन्तान छन्। छोराछोरीका लागि पनि उनीहरुलाई राहत जरुरी छ।’

उनको छेउमै बस्ने २० वर्षका कृष चाधरी ज्याला मजदुरी गरेर खान्छन्। कोरोनाबाट उनको काम प्रभावित भएपछि उनको परिवारमर्कामा परेको कुरा सीतालाई थाहा थियो। सीता उनीहरुको दुःख देखेर आफू भन्दा प्राथमिकतामा राखेर कृषलाई राहतका लागि आवाज उठाइरहेकी थिइन्। कृषका श्रीमति र दुई जना स–साना बच्चाहरु गरी ४ जनाको परिवार छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो