जब छोरीको जन्मदिनमा २ जनालाई चामल दिएर सुरु भयो राहत यात्रा

फुर्पा शेर्पा
३१ जेठ २०७८ ९:३२

काठमाडौं। २० वर्षको उमेरमै २ छोराछोरीका बुबा बनेका कृष्ण चौधरी काठमाडौंमा ज्याला मजदुरी गरेर खान्छन्। नयाँ घर बनाउने ठाउँमा ठेकेदारले बनाएको टहरामा बस्ने उनलाई भाडा तिर्न भने परेको छैन।

श्रीमती रेखा र उनीसहितको ४ जनाको परिवार गत वैशाख १६ गतेदेखि भएको लकडाउनका कारण भोकै बस्नु परेको अवस्था छ। दैनिक ज्याला वापत पाउने पैसा पाए पनि परिवार पाल्न हम्मे हम्मे भएको कृष्णको अनुभव छ।

‘ज्यामी काम गर्छु। दुई वटा बच्चा छन्। बैशाख १६ देखि काम गरेको छैन्,’ अहिलेको अवस्थासम्म आइपुग्दाका दिनहरुको सम्झना गर्दै थिए कृष।उनले भने, ‘जहाँजहाँ काम गर्यो त्यहीँत्यहीँ छाप्रो बनाइदिन्छन्, भाडा तिर्नु पर्दैन। सधै काम गरेको बिहान बेलुका खादै ठिक हुन्छ।’

विश्व नै कोरोनाले आक्रान्त पारेका बेला हजारौं कृषको रोजगारी गुमेको छ। निजी कम्पनीमा काम गर्ने कर्मचारी र ज्याला मजदुरी गरेर खानेको दैनिकीमा केही फरक पाइँदैन। धेरैले काठमाडौं छोडेर घर फर्के। पोहोरको लकडाउनमा पनि काठमाडौंमै बसेका कृष अहिले पनि गाउँ फर्केनन्।

‘गाउँमा पनि मजदुरी गरेर खाने हो, गएर के काम। त्यहाँ पनि बुबा आमालाई हाम्रो जस्तै त छ नि। लकडाउनमा पनि सुरक्षाका मापदण्ड अपनाएर काम भइहाल्छ की भने आशमा यहीँ बसेको हुँ भएन्,’ कृष दुखेसो पोख्दै थिए।

अरु काम गरेर परिवार पाल्नेको जस्तैं कृषको पनि कमाएको पैसा बचत हुँदैन। दैनिक करिव ९ सय ज्याला पाउने उनी दुई छोराछोरी र आफ्नो बुढाबुढीलाई पालिन ठिक्क भएको सुनाउँछन्। काम नभएको बेला सरकारले हेरिदिने कृषको ठूलो अपेक्षा छ। उनले भने, ‘दुःख पर्दा सरकारले हेर्नु पर्ने हेरेन। साहु त काम गरेपछि दिन्छ नत्र दिँदैन।’

हिजोको कथामा आएकी सीता र आजका कृष प्रतिनिधि पात्रमात्र हुन्। एनएसएफ फाउण्डेसनले धेरै सीता र कृषलाई राहत दिँदै आएको छ। आज पनि फाउण्डेसनका संजयलाल श्रेष्ठ स्कुटीमा सामान राखेर विचल्लीमा परेकाहरुको उद्धारका लागि हिँडिरहेका छन्। खान खुवाउने र खाद्यान्न पुर्याइदिने उनको दैनिकी बनेको छ।

बालबालिकाको रेखदेखका लागि दर्ता गरिएको फाउण्डेसनले लकडाउनमा विपन्न वर्गलाई राहत बाँड्दै आएको श्रेष्ठले जानकारी दिए। अध्यक्ष निशा महर्जन, व्यवस्थापक सन्दिपलाल श्रेष्ठ, सञ्जलयलाल श्रेष्ठ, सुशीला श्रेष्ठ, शर्मिला श्रेष्ठ, सम्झना राई, विश्व गुरुङ र अमृत महर्जनलगायतको टीमले कोरोनाको पहिलो लहरको बेला पनि राहत वितारण गरेको थियो।

राहत माग्नेहरुले गरेको अनुनय विनयलाई स्वीकार गर्दै राहतको लागि दौडधुप गरिनु उनीहरुको दैनिकी बनेको छ। छोरीको जन्मदिनमा दुई जनालाई दिएको खाद्यान्नबाट राहतको सुरुवात भयो। श्रेष्ठका अनुसार सेवा नै धर्म हो भन्ने हेतुले यस तर्फ आर्कषित भएका छन् उनी।

‘हामी कपनमा बस्थ्याै, सुरुमा व्यक्तिगततर्फबाट राहत बाडेको हो, मैले,’ राहतको यात्रा वृतान्त सुनाउँदै श्रेष्ठले भने, ‘मेरो छोरीको पहिलो जन्मदिन थियो। त्यसदिन पसल जाने क्रममा बाहिर बसिराख्नु भएका दुई जना महिलालाई देखे। उहाँहरुलाई किन बस्नु भएको भनेर सोध्दा उहाँहरुले वडाले राहत बाँड्छ भनेकोले बसेको भन्नुभयो। म दुई–तीन घण्टापछि फेरि सामान किन्न बाहिर निस्किदा उहाँहरु त्यही हुनुहुन्थ्यो। अनि मैले पाउनु भएन भनि सोध्दा उहाँहरुले अहिलेसम्म पाएको छैन भन्नुभयो। त्यसपछि छोरीको जन्मदिन पनि परेकाले गर्दा मैले नै उहाँहरुलाई करिब एक महिनालाई पुग्ने रासन किनिदिए।’

दुई जनालाई राहत बाढेँपछि अरुले पनि अपेक्षा गर्न थाले। अहिले उनीहरुको दैनिकी नै भएको छ। ‘उहाँहरु दुई जनालाई बाडेको थाहा भएपछि अरुले पनि त्यही सामान किनेको किराना पसलमै आउने र हामीलाई पनि भनिदिनुस् न भनेर आग्रह गर्न थाले।’ उनले भने, ‘त्यसपछि हामी सबैजना मिलेर आफूहरुले सकेको सहयोग गर्दै गएका हौं। हामीलाई पनि अरुले नै मेरो तर्फबाट यति जनालाई राहत पुर्याइदिनुहोला भन्नु हुन्छ, त्यसरी नै बाँडिराखेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *