प्राकृतिक विपदः तीन दलले राहत तथा उद्धारमा खटाए कार्यकर्ता

डिसी नेपाल
२ असार २०७८ १८:००

काठमाडौं। मनसुनी वर्षा शुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको प्रकोप बढेपछि देशका प्रमुख तीन पार्टीले आ आफ्ना कार्यकर्तालाई राहत तथा उद्धारमा लाग्न निर्देशन दिएका छन्। एमाले, काँग्रेस र माओवादी केन्द्रले बुधबार आ आफ्ना कार्यकतालाई राहत तथा उद्धारमा सक्रिय हुन आ आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन्।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको राहत तथा उद्धारमा सक्रिय हुन आफ्ना नेता तथा कार्यकर्तामा आव्हान गरेका छन्। उनले प्राकृतिक प्रकोप प्रतिकार्यका लागि सरकारले सबै मन्त्रालय परिचालन हुने निर्णय गरेको भन्दै त्यसको स्वागतसमेत गरेका छन्।
उता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार विज्ञप्ति जारी गर्दै बाढी पहिरो पीडितको राहत तथा उद्धारमा लाग्न आफ्नो नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्। सभापति देउवाले प्राकृतिक प्रकोप पीडितहरुको राहत तथा उद्धार युथस्तरमा गर्न सरकारसँग मागसमेत गरेका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई राहत तथा उद्धारमा लाग्न निर्देशन दिएका छन्। उनले पीडितहरुको उद्धार तथा राहतका लागि सरकारसँग मागसमेत गरेका छन्।

मंगलबार राति सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हालसम्म सिन्धुपाल्चोकमा एकजनाको मृत्यु भएको पुष्टि भएको छ भने ७ जना हराइरहेका छन्।

करिब ९०० जना बाढीबाट प्रभावित भएका छन्। हजारभन्दा धेरै घरहरु बाढीले बगाएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चारसम्पर्कसमेत राम्रो हुन नसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिएका छन्। उनले सबै सुरक्षाकर्मीहरु राहत तथा उद्धारका लागि परिचालन गरिएकोसमेत बताएका छन्। यस्तै नेपाल रेडक्रसले राहत सामाग्री वितरण गरेको छ। खाना र पानी व्यवस्था रेडक्रसले गरेको छ। तर, यतिबेला पनि अविरल वर्षा भइरहेको र नदीमा बाढी आइरहेकाले उद्धारमा समस्या भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *