जसपा विवादः महन्थ ठाकुरले कार्यकारिणी समितिमा २० जना मनोनित गरे

डिसी नेपाल
२ असार २०७८ १८:५९

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा विवाद चर्किरहेका बेला एक अध्यक्ष महन्थ ठाकुरले ५१ सदस्यीय कार्यकारिणी समितिबाट केहीलाई हटाएर थप २० जनालाई मनोनित गरेका छन्।

ठाकुरले यसअघि नै उपेन्द्र यादवलाई कारवाही गरिसकेका छन् भने महेन्द्रराय यादव, रामनरेशराय यादव, गजादर यादव, रमेश यादव, मृगेन्द्रसिंह यादव, र नवलकिशोर साहलाई कार्यकारिणी समितिबाट हटाएका छन्।

ठाकुरले संघीय सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका एकबाल मियाँ, पर्यटनमन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सहित प्रमोद साह, सन्तोष मेहता, राजीव झा, उपेन्द्र महतो, बिनोद सिंह, सुरेन्द्र झा लगायतका नेताहरूलाई मनोनित गरेका छन्।

ठाकुरले कार्यकारिणी समिति थप गरेर उक्त कागजात अध्यवधिक गर्न निर्वाचन आयोग पठाएका छन्। जसपा बन्ने क्रममा २५ जना यादव नेतृत्वको पूर्व सपाबाट र २६ जना पूर्व राजपाबाट नेताहरूलाई राखेर ५१ सदस्य कार्यकारणी समिति बनाइएको थियो।

साविकको ५१ सदस्यीय कार्यकारिणी समितिमा अल्पमतमा परेपछि ठाकुरले आफूलाई सहयोग नगर्ने नेताहरुलाई हटाएर आफू निकट नेतालाई मनोनित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *