श्रम सम्झौता भएको १० महिनापछि नेपाली कामदार इजरायल पठाइँदै

रिता बस्नेत
४ असार २०७८ ९:२१

काठमाडौं। यतिबेला वैदेशिक रोजगार विभाग झण्डै १० महिना अघि इजरायलसँग भएको श्रम सम्झौतानुसार नेपाली युवाहरुलाई इजरायल पठाउने तयारीमा जुटेको छ।

पछिल्लो समय इजरायल कामदार पठाउने सम्बन्धी निर्देशिकासमेत जारी भइसकेको अवस्थामा अब भने अर्को हप्तासम्ममा अन्य सबै तयारी सकिने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी गराए।

महानिर्देशक दवाडीका अनुसार नेपाली श्रमिक इजरायल पठाउनेसम्बन्धी इजरायल सरकारसँग नेपाल सरकारले प्राविधिक तहमा छलफल गरिराखेको छ। उनले भने, ‘सरकारले पठाउने नै भनेर तयारी सुरु गरेको छ। तयारी सकिएपछि डिमाण्ड आउँछ र परीक्षा दिएपछि अर्थात् परिक्षामा पास भएपछि त जान पाइहाल्छन् नि।’

कोभिडले गर्दा श्रम सम्झौतानुसार नेपाली युवाहरु समयमै इजरायल पठाउन नसकिएको महानिर्देशक दवाडीले बताए। उनले भने, ‘अर्को हप्तासम्म तयारी सकिन्छ होला र यताको तयारी सकिएपछि उनी (इजरायलतर्फ) हरुलाई पनि खबर गरिराखेका छौं उनीहरुको तयारी पनि हामीलाई सेयर गरिराखेका छन्। यो कोभिडले गर्दा उनीहरुको कारणले भन्दा पनि हाम्रै कारणले ढिलो भइराखेको हो।’

उनका अनुसार नेपाली श्रमिक हप्ता–दश दिनपछि इजरायल जाने निश्चित हुने छ भने यो महिनाभित्रै उनीहरु इजरायल जान पाउने छन्।
नेपाली कामदार पठाउने सम्बन्धी नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।

उक्त सम्झौताको अभिन्न अंगको रुपमा रहेको कार्यान्वयन प्रोटोकल (इम्प्लिमेन्टेशन प्रोटोकल) मा गत माघ ८ गते नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहाल र इजरायल सरकारको तर्फबाट नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले हस्ताक्षर गरेका थिए।

हस्ताक्षर समारोहमा नेपालका लागि इजरायलका राजदूत गोडेरले नेपालबाट जाने कामदारहरुको लागि कुनै विभेद नगरी इजरायलका नागरिक सरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको र यो प्रक्रिया छिट्टै आरम्भ हुने विश्वास व्यक्त गरेका थिए।

साथै, सो अवसरमा इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले नेपाल–इजरायल श्रम सम्झौताले दुबै देश बीचको मित्रवत् सम्बन्धमा थप टेवा पुग्ने विश्वास भर्चुअल माध्यमबाट व्यक्त गरेकी थिइन्।

त्यसपछि गत बैशाखमा सरकारले इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७८ पारित गरेको थियो। जसमा इजरायल रोजगारीमा जाने नेपाली युवाहरुलाई के कति खर्च लाग्ने, पढाई कति हुनुपर्ने, उमेर–उचाई कति हुनुपर्ने लगायत सु–सुचित गराइएको छ।

सो निर्देशिका बमोजिम रोजगारीको लागि दरखास्त पेश गर्ने उम्मेदवार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने छ। र, कम्तिमा एक दशमलव पाँच मिटर उचाई र ४५ किलो तौल भएको हुनुपर्नेछ।

पढाई कम्तिमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए.सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरह शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्गसम्बन्धी कम्तीमा तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ। साथै, असल चरित्रको शारीरिक र मानसिक रुपमा स्वस्थ भएको अंग्रेजी भाषाको ज्ञान भएको हुनुपर्ने छ।

निर्देशिका अनुसार विगतमा इजरायल गई काम गरेका, आमा, बुवा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास गरिरहेका वा कार्यरत रहेका र लागूपदार्थ वा मादक पदार्थ दुव्र्यसनमा लागेका व्यक्ति इजरायल जान पाउने छैनन्।

कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन् । सम्झौतानुसार पहिलो चरणमा पाँच सय (महिला–पुरुष)जना नेपाली सरकारी सयन्त्र (जिटुजी)मार्फत इजरायल जान पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *