तीनजना मन्त्रीलाई सरकार छाड्न एमाले कर्णाली संसदीय दलको निर्देशन
काठमाडौं। कर्णाली प्रदेश सरकारमा रहेका एमाले तीनजना मन्त्रीहरुलाई सरकार छाड्न एमाले कर्णाली प्रदेश संसदीय दलले शुक्रबार निर्देशन दिएको छ। पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी नेतृत्वलाई सघाएपछि मन्त्री बनेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमाले कर्णाली प्रदेश संसदीय दलले सरकार छाड्न निर्देशन दिएको हो।
तीन मन्त्री अर्का नेता प्रकाश ज्वालाले एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै माओवादी नेता महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका थिए। त्यसपछि एमालेले उनीहरुलाई कारबाही गरेको थियो। एमालेको कारबाहीसँगै उनीहरुको सांसद पदसमेत खारेज भएको थियो। तर, सर्वोच्च अदालतले चारैजनाको सांसद पद पुनःबहाली गरिदिएपछि एमाले संसदीय दलले फेरि उनीहरुलाई सरकार छाड्न भनेको हो।
अहिले कर्णाली प्रदेशमा सरकारमा पनि एमाले र विपक्षमा पनि एमाले रहेको अनौठो दृश्य देखिएको छ। एमालेको केन्द्रमा देखिएको विवाद प्रभाव कर्णाली प्रदेशमा पनि परेको हो। मावध समूहका ४ जनाले फ्लोर क्रस गरेका थिए। त्यसपछि तीनजना मन्त्री बनेका थिए।
४० सदस्यीय कर्णाली प्रदेशमा माओवादी केन्द्रका धर्मराज शाहीको पद खारेज भएपछि हाल ३९ सदस्य छन्। एमाले २० सिटसहित एकल बहुमतमा छ। तर, पनि एमालेले सरकार बनाउन सकिरहेको छैन। पार्टीका सांसदले फ्लोर क्रस गरेपछि एमाले सरकार बनाउन असफल भएको हो भने माओवादी नेतृत्वको सरकार जोगिएको हो। तर, संसदीय दलले तीनजना मन्त्रीको राजीनामा मागेसँगै महेन्द्र शाही नेतृत्वको कर्णाली सरकारको संकट फेरि बढेको छ। संसदीय दलले सरकार छाड्न निर्देशन दिए पनि उनीहरुले निदेशन मान्ने नमान्ने यकिन भने भएको छैन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment